arrow

पशुपतिको प्रश्न–‘हाम्रो एजेण्डा झिक्ने, अन्य दलले आचारसंहिता मिचेको नदेख्ने’

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
pashupati-jabara-news-aa.jpeg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले राप्रपाको एजेन्डा झिकेर निर्वाचन आयोगले विवाद सिर्जना गरेको बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कारमा राणाले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर आयोगले विवाद सिर्जना गरेको बताएका हुन् । उनले आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानीय तहको निर्वाचनमा जाने बताए ।  

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अप्ठेरोमा पर्ने र निर्वाचन नहुने अवस्थालाई मध्यनजर गर्दै आफूहरुले सरकारमा थप जिम्मेवारी लिएको राणाको भनाई छ । विभिन्न दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन गरिरहेको तर्फ ध्यान जानु पर्नेमा जोड दिँदै राणाले भने, ‘हाम्रो एजेण्डा झिक्ने, अन्य दलले आचारसंहिता मिचेको नदेख्ने ?’

यस्तै, संविधान संशोधनमा देखिएको लचकताले निर्वाचन हुने पक्का जस्तै भएको भन्दै राणाले अब चाहेर पनि कसैले निर्वाचन रोक्न नसक्ने बताए । मधेस केन्द्रित पार्टीहरुसँग सरकारले सम्वाद गरिरहेको र मंगलबारदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको जानकारी आएको भन्दै उनले संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमति भइसकेको पनि बताए ।  

नेता राणाले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण विषयबाट अलग्गिएर निकास ननिस्कने भन्दै प्रतिपक्षले मधेसलाई बाईपास गरेर अगाडि बढ्न नहुनेमा जोड दिए ।
राप्रपा संविधान संशोधनको विरोधमा नरहेको भन्दै राणाले संशोधनको विषय नयाँ शिराबाट समेत सुरु गर्न अनुरोध गरे ।

राणाले न्यायालय र कार्यपालिकाबीचको विवाद आजको नभई पहिल्यैदेखि चल्दै आएको बताउँदै यो नेपालको लागि फलदायक नरहेको बताए । आईजीपी प्रकरणमा साधारणतया कार्यपालिकाको निर्णयमा न्यायालयले हस्तक्षेप गर्न नमिल्ने भएतापनि सप्रमाण उजुरी आएको र त्यसमा न्यायालयले गरेको निर्णय सकारात्मक भएको राणाको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ