arrow

हात्ती आतङ्क रोक्न केरोड खर्चदै सरकार

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Elephant-1-750x500.jpeg

काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ ।

पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो ।

आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ । चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा रु २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्का भन्छन्,  “हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ ।

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत उक्त औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि मुलुकभर वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको बताइन्छ ।

बर्दियामा फुच्चे हात्तीको आतङ्क
पछिल्ला समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बढेको छ । समूहमा आउने जङ्गली हात्तीबाहेक एक्लै हिँड्ने ‘फुच्चे भाले’ हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष छ जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा २२ बिगाहा जमिनको खेतीबाली नष्ट हुनुका साथै ४०० घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

समूहमा बस्ने अरु हात्तीसँग हारेपछि ‘फुच्चे भाले’ हात्ती मात्तिएर रिस फेर्न बस्ती आक्रमणमा देखिएको प्रमुख संरक्षण अधिकृत थापाको जिकिर छ । निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ ।

बर्दिया निकुञ्जमा करिब एकसयको सङ्ख्यामा जङ्गली हात्ती रहेको उनले जानकारी दिए । निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच लाख आर्थिक सहायता र ३० हजार किरियाखर्च प्रदान गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ