arrow

सीके राउतलाई थप १० दिन थुनामा राख्न आदेश, यो सँगै पाँचौपटक म्याद थप

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
ck_raut.jpeg

लहान । राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई सिरहा अदालतले शुक्रबार पाँचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो ।

यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रोपटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पाचौंपटक शुक्रबार चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

अन्तिमपटकका लागि शुक्रबार अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेस गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताए । पक्राउ परेका राउतमाथि राज्यविरुद्धको संगठित अपराधअन्तर्गत् प्रहरीले मुद्दा चलाएको हो ।

सप्तरीको महदेवा गाविस घर भइ जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजारनजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, उनी उक्त मुद्दामा धरौटीमा छुटेका थिए ।

राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखन्डता वा राष्ट्रिय एकतामा खललपार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने व्यवस्था रहेको कानुन व्यवसायीले बताएका छन् ।

यसैबीच, डा राउतलाई म्याद थपका लागि अदालत लैजानेक्रममा सदरमुकाम सिरहाबजारमा ढुंगामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको जिप्रका, सिरहाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ