arrow

काँग्रेसको चार लाख ७० हजार ६५५ क्रियाशील सदस्यता सभापतिलाई बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष १३ सोमबार
congress-flag.jpg.jpeg
भीष्मराज ओझा, काठमाडौँ। नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ ले आज त्यसको प्रतिवेदन सभापति सुशील कोइरालालाई बुझाएको छ । 
 
उक्त समितिको प्रतिवेदनका सम्बन्धमा यही पुस १ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउनु पर्ने निर्णय गरेको थियो । साथै सभापतिले सो प्रतिवेदन तेह्रौँ महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिमा पठाउनु पर्ने निर्णय गरिएको थियो । 
 
समितिले सभापति कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमानसिंहलगायतको सहभागितामा प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित बुझाएको समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । 
 
अब सभापतिले सो प्रतिवेदन निर्वाचन समितिलाई बुझाउने र सोहीअनुसार पार्टीको स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । काँग्रेस क्रियाशील सदस्यतामा सभापति र महामन्त्रीको अन्तिम हस्ताक्षरपछि मात्र आधिकारिक हुन्छ । 
 
काँग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यसबारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो । 
 
काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि गाउँ, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ । 
 
तीन दिनको समयावधि पाएको छानबिन समितिले काम बाँकी भन्दै केही प्रतिवेदन बुझाउन नसक्दा थप समयको माग गरेको थियो । क्रियाशील सदस्यतामा असन्तुष्टि जनाउँदै केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा डोल्पा र सोलुखुम्बुका नेता कार्यकर्ता अनशनमा बसेका छन् । 
 
काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम भर्ने क्रममा संस्थापन पक्ष (सभापति कोइराला पक्ष) र वरिष्ठ नेता देउवा पक्षबीच आआफ्ना पक्षका सदस्यता बढाउने होडबाजी चलेका कारण केही जिल्लामा क्रियाशील सदस्यता विवाद देखिएको थियो । 
 
काँग्रेसको १२औँ महाधिवेशनमा तीन लाख १६ हजार ८६६ क्रियाशील सदस्य थिए भने हाल त्यो सङ्ख्या बढेर चार लाख ७० हजार ६५५ पुगेको छ । सो प्रतिवेदनअनुसार दुई लाख ५७ हजार ४०२ नवीकरण भएका क्रियाशील सदस्यता हुन् भने दुई लाख दुई हजार १७९ थपिएको नयाँ सदस्यता हो । 
 
त्यस्तै, २३ देशमा रहेका जनसम्पर्क समितिबाट प्राप्त कुल सदस्यता सङ्ख्या एघार हजार ७४ रहेको समितिको प्रतिवेदनमा छ । 
 
पार्टीको निम्न तहको गाउँ र नगरका वडाको निर्वाचनमा क्रियाशील सदस्यताले महत्वपूर्ण प्रभाव पार्ने भएकाले दुवै पक्ष यतिखेर आआफ्ना गुटका सदस्यता पारित गर्न लागिपरेका छन् । गाउँ र नगर वडाका निर्वाचित प्रतिनिधिले नै पार्टीको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ