arrow

'चीनको वान बेल्ट वान रोडले नेपालमा प्रचुर अवसरहरु सिर्जना गरेको छ'

logo
अजय अलौकिक,
प्रकाशित २०७३ चैत १३ आइतबार
PM_Prachanda_beijing.jpeg

बेर्इजिङ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पैचिङस्थित चीनका लागि नेपाली दूतावास र बेजिङ फरेन स्टडिज युनिभर्सिटीले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल-चीन सम्बन्धः विकास र समृद्धिका सम्भावनाहरू’विषयक कार्यक्रममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले चीनको एक बाटो एक पाटो (वान वेल्ट वान रोड) परियोजनाले साझेदारी र हातेमालो गर्न प्रचुर अवसरहरु सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई धन्यवाद पनि व्यक्त गरे। 

 

साथै प्रधानमन्त्री प्रचण्डले तातोपानी नाका खोल्न र अरू पनि नाकाहरू खोल्नु पर्छ भन्दै सडकमात्रै नभइ चीन र नेपालका शहरबीच धेरैभन्दा धेरै हवाइ मार्ग पनि सञ्चालन गर्नुपर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनमा चीन आर्थिक क्षेत्रमा पावरहाउस भइसकेको भन्दै प्राचीन कालदेखि जोडेको सम्बन्धलार्इ अब आर्थिक रूपमा अघि बढाउनुपर्ने पनि बताए ।

 

भौगोलिक रूपले मात्रै होइन बजारले तथा इतिहासले मात्रै होइन भाग्यले र विगतले मात्र होइन समृद्ध भविष्यले नेपाल र चीनलार्इ जोडेको बताए । साथै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पहिले भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजान र एक बाटो एक पाटो अवधारणामा भएको समझदारीलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए।

 

यसैबीच प्रधानमन्त्री प्रचण्डले बेजिङ फरेन स्टडिज युनिभर्सिटीअन्तर्गत नेपाली भाषा केन्द्रको उद्घाटन गर्दै विश्वमा नेपाल र नेपाली भाषालार्इ परिचित बनाउन यसबाट सहयोग पुग्ने बताए। उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नो मन्तव्य क्रममा चीन नेपाल बीचको सहकार्यमा प्रचुर सम्भावना रहेको बताए। उक्त विश्वविद्यालयका अध्यक्ष फङ लोङले दुर्इ मुलुकबीचको सम्बन्ध प्राचिनकालदेखि मित्रवत् रहँदैआएको बताए । साथै उनले चीन र नेपालबीचको आदानप्रदान बढाउनका लागि यस केन्द्रले अझै ठूलो योगदान दिने बताए ।

 

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग चैत्र १४ गते सोमबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण दलले ग्रेटवालको भ्रमण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ