arrow

कालीकोटका ८५ विद्यालय शान्ति क्षेत्र, ७२ प्रतिशत विद्यालय अझै बाँकी

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
kalikot_chait_14.jpeg
कालीकोट । कालीकोटका ८५ विद्यालय शान्ति क्षेत्र घोषणा गरिएका छन् । २०६८ साल जेठ ११ गते मन्त्रिपरिषद्ले विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा कार्यान्वयन गर्ने निर्णय गरेपनि कालीकोटका विभिन्न विद्यालयहरुमा निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको ६ बर्ष पुग्न लाग्दा पनि विभिन्न बहानामा ग्रामीण बालबालिका तीनवटै दल र भातृसंगठनको बन्द, हड्तालको डरमा पढ्न बाध्य हुँदै आएका छन् ।
 
कालीकोटका कूल २ सय ९४ विद्यालय मध्ये ८५ विद्यालय मात्र शान्ति क्षेत्र घोषणा हुन जिल्ला शिक्षा कार्यालय र राजनीतिक दलको उदासिनता भएको बताइएको छ । गैर सरकारी संस्थाहरुले परियोजना सञ्चालन गरेका गाबिसमा विद्यालयहरु मात्र शान्ति क्षेत्र घोषणा गरिनुले सरकारले गरेको निर्णय कार्यान्वयनका लागि सरकारी निकाय नै उदासिन बनेको छर्लङ्ग भएको छ । 
 
सेभ द चिल्ड्रेृनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटले सञ्चालन गरेको यूवा सशक्तीकरण परियोजना र किर्डाक नेपाल कालीकोटले सञ्चालन गरेको सहयात्रा परियोजना लागू भएका जिल्लाका १२ गाउँ बिकास समितिका अधिकांश विद्यालयहरु शान्ति क्षेत्र घोषणा गरिएका छन्। 
ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) का अध्यक्ष मीनबहादुर बोगटी परियोजनाले समेटेका गाउँ बिकास समितिका विद्यालयहरु शान्ति क्षेत्र घोषणामा सहजीकरण गर्दै आएको बताए । ‘हामी हाम्रो परियोजनाको कार्यक्षेत्र भित्रका विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न सहजीकरण गरिरहेका छौ’ उनले भने, ‘जिल्लाका अन्य विद्यालयहरु शिक्षा कार्यालयले यसको अगुवाई गर्नु पर्ने हो ।’
 
सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ अनुरुप काम हुन नसकेको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेलेबताए । उनले भने, ‘विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालयले तत्परता देखाउनु पर्ने हो त्यसो हुन सकेको छैन ।’ 
 
मालिका मावि शान्ति क्षेत्र घोषणा 
तिलागुफा नगरपालिकोको मालिका माध्यामिक विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ । साविकको फोईमहादेव गासिकास्थित मालिका माध्यमिक विद्यालयलाई आइतबार एक समारोहकाबीच शान्ति क्षेत्र घोषणा गरिएको हो । विद्यालय शान्ति क्षेत्र घोषणा गर्दै तिलागुफा नगरपालिकाका कार्यकारी अधिकृत बरदान सेजुवालले हिंसारहित शैक्षिक वातावरणले मात्र शिक्षामा गुणस्तर ल्याउन सक्ने बताए ।
 
उनले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए । ‘विद्यालय शान्ति क्षेत्र घोषणा गरेर मात्र हुँदैन’ उनले भने, ‘आफैले गरेको निर्णय कार्यान्वयनका लागि पनि सबै क्षेत्र उत्तिकै जागरुक हुन जरुरी छ ।’ बालमैत्री वातावरणमा विद्यार्थीको पठनपाठन हुन सके मात्र विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमले सार्थकता पाउने उनको भनाई छ । 
 
कार्यक्रममा नेपाली काँग्रेस कालीकोटका उपसभापति शंकर उपाध्यायले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउन आफ्नो पार्टीको तर्फबाट सधै सहयोग हुने प्रतिबद्धता जनाए । विद्यालय शान्ति क्षेत्र घोषणा पछि आफ्नोृ पार्टीले विद्यालयमा कुनै पनि राजनीतिक गतिविधी नगर्ने दावी गरे । 
 
कार्यक्रममा सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक विजय बिश्वकर्माले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ अनुरुप विद्यालयलाई सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्नु, दलगत तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु, विद्यालयलाई भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त गर्ने उद्देश्य लिएकोलेसो अनुरुप वातावरण बनाउनु आवश्यक भएको बताए । विद्यालयमा विद्यार्थीलाई झिकाउने, टिकाउने, पढाउने र बिकाउ जनशक्ति उत्पादनका लागि पनि शान्तिपूर्ण र बालमैत्री वातावरण आवश्यक उनको भनाई छ । 
 
सेभ द चिल्ड्रेन, भिडिसेफ नेपाल र किर्डाक नेपाल कालीकोटको सहजीकरण तथा जिल्ला शिक्षा कार्यालय कालीकोट र गाउँ शिक्षा समिति फोइमहादेवको समन्वयमा भएको विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रममा शिक्षक नवीन हमाल, पत्रकार खगेन्द्र भट्टराई, भिडिसेफ नेपालका कार्यक्रम संयोजक चन्द्रबहादुर बि.क लगायतले विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गर्न सरोकारवालहरुलाई आग्रह गरेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मायाराम महताराको अध्यक्षतामा भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ