arrow

रौतहटमा मोर्चा कार्यकर्ताले राप्रपाको कार्यक्रम विथोले

नेता कार्यकर्तालाई लखेट्दै खरानी दले

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
RPP-nepal-new-aa.jpeg

गौर । रौतहटको गौरमा मधेसी मोर्चाका कार्यकर्ताले राप्रपाको कार्यक्रम विथोलेका छन् । जिल्ला कार्यसमितिको विवाद मिलाउन आयोजित कार्यक्रम मोर्चाका चार–पाँच जना कार्यकर्ताले विथोलेका हुन् । गौर नगरपालिकाको सभा हलमा आयोजित राप्रपाको छलफलबीचमा चार–पाँच जना कार्यकर्ता घुसेर ब्यानर चुँडेर फालिदिएको र हलमा भएका कुर्सी तोडफोड गरिदिएको रौतहट प्रहरी प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

एसपी पोखरेलका अनुसार नचिनेगरी छिरेका कार्यकर्ताले तोडफोड गरेपछि तनाव उत्पन्न भएको थियो । रौतहटमा राप्रपाको दुई समूह भएपनि हालसम्म जिल्ला कार्यसमिति र नेतृत्वको टुंगो लाग्न सकेको छैन । यसअघि ३–४ पटक प्रयास भएपनि टुंगो लाग्न सकेन । फेरि पनि सहमति गर्न भन्दै नगरपालिकाको सभा हलमा भेला डाकिएको बताइएको छ । 

राप्रपाका नेता कार्यकर्ताको भागाभाग
हलमा छिरेर तोडफोेड गर्न थालेपछि राप्रपाका कार्यकर्ताको भागा भाग भएको सहकर्मी यादवराज पुरीले जानकारी दिए । उनका अनुसार मोर्चाका कार्यकर्ताले हलमा रहेका २५–३० वटा कुर्सी तोडफोड गरिदिएका छन् । नगरपालिकाको सभाहलबाट राप्रपाका नेता कार्यकर्ता भागेर जिल्ला नेता सत्येन्द्र सिंहको घरमा बैठक बसेकामा मोर्चाका कार्यकर्ता फेरि त्यहाँ पनि पुगेका सहकर्मी पुरीले बताए ।

सिंहको घरमा धर्ना दिन पुगेका उनीहरुले उपाध्यक्ष शिवजीप्रसाद चौरसियासहित तीन जनाको अनुहारमा खरानी दलिदिएका छन् । प्रहरीले बल प्रयोग गर्ने देखिएपछि मोर्चा कार्यकर्ता भागेका बताइएको छ । मोर्चा कार्यकर्ताले बिहान साढे ९ बजेबाट जिल्ला निर्वाचन आयोगको कार्यालय समेत घेराउ गरे । उनीहरुले निर्वाचन आयोगको कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ