arrow

फेरिँदै मकवानपुरगढीको काँचुली, कस्तो बन्दैछ नेपाली सेनाको पहिलो विजयभूमि ?

logo
सुदर्शन अर्याल/सुनिल शिवाकोटी,
प्रकाशित २०७३ चैत २५ शुक्रबार
makawanpurgadhi.jpg

काठमाडौं । काडमाडौंबाट कान्तिलोकपथ हुँदै हेटौंडातर्फ जाँदा झण्डै ६० किलोमिटरको दूरीमा मूल सडकको करिब १ किलोमिटर माथि अवस्थित छ मकवानपुरगढी दरबार । ऐतिहासिक महत्व बोकेको दरबार सेनवंशी राजाहरुको समयदेखिको ऐतिहासिकता बोकेको दरबार हो भन्ने तर्क स्थानीयको छ । त्यहाँ सानो गढी र मूल गढी गरी दुईवटा गढी रहेको छ ।

मकवानपुर गढी दरबारमै रहेको गणेश मन्दिरमा पूजा गर्ने पूजारीका अनुसार यहाँ मणिमुकुन्द सेन लगायतले शासन गर्दै आएकोमा पृथ्वी नारायण शाहका जेठान दिग्बन्धन सेनको कार्यकालबाट सेन वंशीहरुको शासन समाप्त भएको इतिहास भेटिन्छ ।

सैनिकहरुको लागि मकवानपुर गढीको महत्व एकदमै धेरै रहेको पाईन्छ । हतियारको अभाव रहेको बेलामा नेपाली सेनाले मिर कासिमको फौजबाट पाँच सय भन्दा बढी राईफल, दर्जनौ तोपहरु र अन्य आधुनिक हातहतियारहरु हातपार्न सफल भएका थिए । नेपाली सेनाको इतिहासमा नै पहिलो पटक गठन गरिएका श्रीनाथ गुल्म, कालीबक्स, बर्दबहादुर र सबुज गुल्महरुको इतिहास पनि यही गढी स्थापना पछिको युद्धमा भएको ऐतिहासिक दस्तावेजहरुमा भेटिन्छ ।

मकवानपुर गढी वि सं १६१० मा मकवानपुर राज्यको राजधानीको रुपमा स्थापना गरिएको हो । चारैतिरको उच्च स्थानमा चारै तिरका खोँचहरुको दृश्यावलोकन गर्न सकिने मकवानपुर गढीमा शत्रुहरुले गढीमा पुगेर आक्रमण गर्न सक्ने सम्भावना नै देखिँदैन ।

चारै तिरबाट लड्न आउने शत्रुहरुलाई आक्रमण गर्न तोपको निशाना लगाउनेदेखि अफ्टेरै परेको खण्डमा भाग्नको लागि बैकल्पिक मार्गको समेत निर्माण गरिएको सो गढी साँच्चिकै ऐतिहासिक व्यक्तिहरुको चातुर्यता पुष्टि गर्ने गरी तयार पारिएको छ ।

दरबारलाई पूरा परिक्रमा गर्ने गरी दरबारबाहिर झण्डै १० फिट भन्दा गहिरो खाल्डो राखिएको छ । स्थानीयले बताए अनुसार सो खाल्डोमा सेन वंशी राजाहरुले भरी पानी राखेर त्यसको माथि भुसराखिदिने गरेका थिए । ताकि शत्रुहरुलाई रोक्ने हर प्रयास विफल भएको खण्डमा पनि उनीहरु दरबार प्रवेश गर्न नसकुन् । सो दरबारको वरीपरी त्यो खाल्डो पार गर्न सामान्य मानिसलाई अहिले पनि सम्भव छैन ।

जीर्ण मन्दिरमै सुन्दरताको खानी
सामान्यतयाः मन्दिर या त अन्य भवन नै किन नहोस् । जीर्ण भएपछि त्यसको सुन्दरता क्रमशः नष्ट हुन्दै जान्छ । तर, मकवानपुर गढी पुगेका व्यक्तिहरुलाई त्यस्तो अनुभूति हुँदैन । किनभने झण्डै ४ सय वर्ष पूरानो विश्वास गरिएको सो भवन पूर्ण भवन नरहे पनि तत्कालीन शैलीको झल्को भने ती भवनहरुले अझै दिई नै रहेका छन् । कुनै दरबारको पूर्ण आकृति त यो भवनले दिन सक्दैन । तर, पनि यसले भूकम्पको विध्वंशलाई पनि चिरेर आफ्नो पुरातन शैलीको उदाहरण भने मेटिन दिएन ।

कैदी खाल्डोको रोचक तथ्य
दरबार परिसर भित्रै दुई वटा ठूलाठूला खाल्डोहरु रहेका छन्, दायाँ र बायाँ । ती खाल्डोमा विभिन्न अभियोगमा दोषी ठहर भएका व्यक्तिहरुलाई ल्याएर खासालिन्थ्यो भन्ने कहानी स्थानीयहरुले सुनाए । स्थानीयका अनुसार त्यतिबेला मकवानपुर राज्यमा खासै चोरी डकैतीको समस्या त थिएन । तर, केही अभियोगमा दोषी ठहर भएर बन्दी बनाउनु परे सोही खाल्डोमा ल्याएर खसालिदिने चलन थियो । सो खाल्डोबाट माथि जान लगभग असम्भव नै थियो । उसले गरेको गल्तीको आधारमा कतिदिन कैदी बन्ने भन्ने निर्णय गरिन्थ्यो ।

बल्ल पुनर्निर्माणमा चासो
पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएको ठहर गर्दै अहिले सरकारले ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार पारेको छ । मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेले मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको भन्दै पुरातत्व विभाग पनि अहिले यस बारेमा सकारात्मक रहेको बताए । पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा र मुलढोका निर्माण गरिने उनको भनाई छ ।

समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ।

मिर कासिमका सेनालार्इ  चेपुवामा पारेको ठाउँ
सेनानायक गुरगिन खाँको नेतृत्वमा आएको मिर कासिमका सेनाहरुसँगको युद्ध नेपाली सेनाको सम्भवतः पहिलो युद्ध थियो । यो युद्धको समय थियो सन् १७ सय ६३ ताका । सो समयमा खाँ को नेतृत्वमा कूल २५ सय सेनाहरु तोप, खुकुरी र बन्दुक समेत बोकेर आएका थिए । उनीहरुको सहायताको लागि अतिरिक्त शक्ति पनि थियो । तर नेपाली सेनाहरुसँग भने न त पर्याप्त हतियार थियो न त शक्ति नै थियो । मात्रै नेपाली सेनाको बहादुरी र उनीहरुको बुद्धिमत्तापूर्ण व्यवहारका कारण नेपाली सेनाले पहिलो युद्धमा विजय मात्रै हाँसिल गरेन । उनीहरुको १७ सय भन्दा बढी सेनाहरुको ज्यान लिएर उनीहरुसँगको हातहतियार लुटी कहिलै फर्किन नसक्नेगरी शत्रुहरुलाई डाँडा कटाईएको थियो ।

मकवानपुर गढी किल्ला र इतिहासका लेखक केदार न्यौपानेले आफ्नो पुस्तकमा मकवानपुर राज्यको वि।सं। १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको उल्लेख गरेका छन्। उनले सेनराजाको थलोको निशाना मेट्ने कार्य भने वि।सं। १८१९ भदौ ९ गते भएको उल्लेख गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ