काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको तिथी औपचारिक रुपमा घोषणा भएको छ । राष्ट्रपति भण्डारीले वैशाख ४ गते देखि भारतको राजकीय भ्रमण गर्ने तय भएको हो । नेपाल र भारतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणको औपचारिक तिथी तोेकेका हुन् ।
राष्ट्रपति भएपछि भण्डारीको यो नै पहिलो विदेश भ्रमण हुनेछ । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको औपचारिक निमन्त्रणमा भण्डारीको राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै गुजरात र उडिसाको भ्रमण गर्ने तय कार्यक्रम तय भएको छ ।
भ्रमणको क्रममा भण्डारीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी भारत गएको भोलिपल्ट राष्ट्रपति भवनमा आयोजित स्वागत समारोहमा सहभागि हुने तथा ’गार्ड अफ अनर’ लिने कार्यक्रम रहेको छ । भण्डारीको सम्मानमा भारतीय राष्ट्रपतिले दिवाभोजको कार्यक्रम आयोजना गर्ने छन् ।
भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजवुत हुने विश्वास लिइइको भारतीय विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।