arrow

मन्त्रीले क्याविनेटमा खानेपानी महसुलको कुरा उठाए पछि तातिए मुख्य सचिव

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
cabinet-prachanda.jpeg

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् बैठकमा खानेपानी बक्यौता तिर्नका लागि कुरा उठाएपछि सचिव बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले सबै निकायका सचिवहरुलाई बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएका छन् ।

क्याबिनेटमा मन्त्री शाहीले कुनै पनि सरकारी निकायले केयुकेएलको खानेपानी महसुल नतिरेकाले पत्राचार गरिएको बताएपछि सबै मन्त्रीले चासो देखाए ।

क्याविनेटमा खानेपानी बक्यौताको प्रसंग आएपछि त्यस लगत्तै बसेको सचिव बैठकमा मुख्य सचिव सुवेदीले सबै निकायका सचिवलाई खानेपानी बक्यौता भुक्तानी गर्न निर्देशन दिएका  हुन् ।

बैठकमा मुख्य सचिव सुवेदीले सबै मन्त्रालय र त्यस मातहतका कार्यालयहरुलाई एक साताभित्र खानेपानीको विल तिरिसक्न निर्देशन दिँदै महसुल तिरे नतिरेको अनुगमन गर्न र त्यसको सूचना सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखालाई भनेका छन् ।

मन्त्री शाहीले केयुकेएललाई बिल लिएर सम्बन्धित निकायमा जान निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयले सरकारी निकायहरुलाई बैशाख मसान्त भित्र खानेपानी बक्यौता तिर्न पत्राचार गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सरकारी निकायहरूबाट उठाउनुपर्ने बक्यौता रकम ४२ करोड ३१ लाख १९ हजार ४ सय १५ रुपैयाँ रहेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय , रक्षा मन्त्रालय ,स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा मन्त्रालय ,  अदालत लगायतका निकायलाई बक्यौता रकम बुझाउन भन्दै पत्र काटिएको छ । ती निकायहरुलाई वैशाख मसान्त भित्र खानेपानीको बक्यौता रकम तिर्न भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ