arrow

मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिको भारत भ्रमण स्वीकृत, सोमबार सार्वजनिक विदा दिने निर्णय

स्वदेश फर्किने दिन पनि सार्वजनिक विदा

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
cabinet-news-aa-14.jpeg

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबार देखि हुने भारत भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो । यस्तै, बैठकले सोमबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।

राष्ट्र प्रमुख भारत जाने भएकै कारण सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेससल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारी स्वदेश फर्किने दिन पनि सरकारले सार्वजनिक विदा दिने भएको छ । बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै जाने दिन सोमबार र फर्कने शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बैठक राष्ट्रपतिको भ्रमण स्वीकृत गर्नको लागि मात्रै बसेको बताउँदै आचार्यले अन्य कुनै निर्णय नभएको बताए । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमणमा आउँदा समेत सार्वजनिक विदा दिएको थियो । सार्वजनिक विदा दिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

राजसंस्था हुँदाको चलन चलाए प्रचण्डले
राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको बताइएको छ । यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी थिइन्।

राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी थिइन्।

राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति डा. रामवरण यादवका पालादेखि तोडिएको थियो। तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। डा. रामवरण यादवले सन् २०१० मा भारतको भ्रमण गरेका थिए ।

यद्यपि, मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेको थिएन। सरकारले फेरि पुरानै परम्परा ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले भण्डारी विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

डा. यादव भन्दा अघि नेपालका राष्ट्राध्यक्ष राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो ।

राष्ट्रपतिको भ्रमण
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतको राजकीय भ्रमणमा जाने तयारी छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँचदिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता हुनेछ । यस्तै, राष्ट्रपति भण्डारीसँग भारतका उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुले भेट गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।

राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुने तथा भ्रमणका क्रममा गुजरात र उडिसा पुग्ने कार्यक्रम छ । भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ