arrow

विनोद चौधरीको आत्मकथा अंग्रेजीमा आउँदै

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
Binod-Chaudhary-Lifestory-Book-Image.jpg.jpeg
काठमाडौं । नेपालका पहिलो अर्बपति विनोद चौधरीको बहुचर्चित आत्मकथा अब अंग्रेजी भाषामा आउने भएको छ । दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करणले पाठकको दायरा बढ्ने विश्वास गरिएको छ । 

अंग्रेजी संस्करणले यी अर्बपतिका सन् २०१३ पछिका नयाँ विवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्र पनि उनका पछिल्ला व्यावसायिक विस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका धर्मपुत्र जीतबहादुरलाई उनको परिवारसँग भेट गराउनका निम्ति चौधरीले निर्वाह गरेको भूमिकाका लागि धन्यवादसमेत दिएका थिए । अंग्रेजी संस्करणमा यसको सविस्तार वर्णन गरिएको छ ।

‘विछोड भएका परिवारजनसँग कसैको पुनर्मिलन गराइदिनु पुण्यको काम हो र गर्नेलाई पनि यसबाट असाध्यै सन्तुष्टि मिलिरहेको हुन्छ,’ चौधरी भन्छन् । ‘चौधरीको पुस्तक प्रकाशित भएलगत्तै उनी विश्वप्रसिद्ध फोब्र्स पत्रिकाको अर्बपति सूचीमा समावेस हुनु एउटा सुखद संयोग थियो,’ पुस्तकका नेपाली र अब अंग्रेजी संस्करण समेतका प्रकाशक नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘चौधरीजस्ता ब्यक्तित्वहरुका कथा नेपालबाट अन्तर्राष्ट्रिय पाठकहरुको घेरासम्म पुग्नु जरुरी छ भन्ने लागेरै अंग्रेजी भाषा मार्फत् यसको दायरा अझ बिस्तृत पार्ने सोचाइमा हामी पुगेका हौं ।’

अंग्रेजी भाषामा यो पुस्तकलाई ल्याउने प्रयास सजिलो भने भइदिएन । यो पुस्तकको अनुवाद गर्ने अभिभारा जसले बोकेका थिए, आज पुस्तक छापिएपछिको स्वरुप हेर्नका निम्ति उनी यस संसारमा रहेनन् । यो पुस्तकलाई अनुवाद गर्नका निम्ति अथक योगदान दिएका पत्रकार संजीव घिमिरेप्रति नेपालय र विनोद चौधरीले विशेष आभार प्रकट गरेका छन् । सुदिप श्रेष्ठसँगको सहकार्यमा लेखिएको मूल पुस्तकलाई यसका पाठकहरुले भाषा र शैलीका हिसाबले असाध्यै मनपराएका थिए ।

‘लेखकका रुपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा मेरो ब्यक्तित्वको अर्को आयाम विकास हुनपुग्यो जुन मैले चिताएको थिइँन,’ चौधरी भन्छन्, ‘पुस्तकसँग जोडिएको पहिचान मैले आजीवन सार्वजनिक जीवन बिताउँदाको अनुभवभन्दा एकदमै बेग्लै हुनपुग्यो ।’

गणबहालस्थित सरकारी स्कुलको विद्यार्थी जीवनदेखि खिचापोखरीका सडकमा खेल्दै र हुर्कदै गरेका चौधरी, उद्योग वाणिज्य संघको नेतृत्वसम्म, अनि आजसम्म अन्य कुनै नेपाली पुग्न नसकेको ब्यावसायिक विस्तारको रोचक गाथा यस पुस्तकमा समेटिएका छन् । उनको चाउचाउ ब्राण्ड ‘वाइवाइ’ले दुइ अर्ब प्याकेटभन्दा बढी उत्पादनको कोशेढुँगा कायम गरिसकेको छ भने यो उत्पादन दैनिक लाखौं उपभोक्ताका हातमा पुगिरहेको छ ।

उनको व्यावसायिक साम्राज्य र ब्यक्तिगत पहुँच आज नेपाल भित्रमात्रै सीमित नरहेर विश्वभर बित्तिय संस्थाहरु, रियल स्टेट लगानी, सेवा उद्योग, सिमेन्ट र खाद्य एवं पेय उत्पादनमार्फत दिनप्रतिदिन बिस्तार हुँदै गइरहेका छन् । सीपामार लगानीमा विश्वप्रसिद्ध भारतीय ब्राण्ड ताज समूहमार्फत सेवा उद्योगमा साझेदारीको थालनीले पनि आज निकै फराकिलो आयतन लिइसकेको छ । यतिबेला आठवटा मुलुकमा ८८ वटा होटल चलाइरहेको उनको टिमले सन् २०२० भित्रमा दुइ सयवटा होटल पु¥याउने संकल्प लिएको छ ।

फोब्र्सले उनलाई उल्लेख गर्दै उनको परिवारलाई सन् २०१३ मा विश्वकै अर्बपतिहरुको सूचीमा समावेश गरेको थियो । त्यतिबेलादेखि नै उनले फोब्र्समा उल्लेखित नेपालका पहिलो र अहिलेसम्म पनि एक्ला अर्बपतिको पहिचानलाई कायम राख्दै आएका छन् । मुलुक भित्र मात्र नरहेर यस भेगकै राजघरानादेखि राजनीतिमा महत्वपूर्ण भूमिका निभाउने नेताहरुसम्मको पहुँच र पकडले उनको जीवनलाई नै स्वादलाग्दो बनाएको छ । यस्ता सम्पर्क र उठबसहरुले उनलाई बेला बेलामा चर्चा र विवादको घेरामा पनि नतानेको भने छैन ।

यसै वर्ष महाभूकम्पलगत्तै जब उनले राहत आव्हानका साथै सहयोगका निम्ति मैदानमा उत्रिए, उनी फेरि फोब्र्सको अर्को सूचीमा देखापरे, चालिस सर्वश्रेष्ठ दाताका रुपमा । अंग्रेजीका पाठकहरुसँग मेरो जीवनका भोगाइहरु साट्न पाउँदा म असाध्यै खुशी छु,’ चौधरी भन्छन्, ‘पाँच वर्षअघि चिलीमा ८.८ रिक्टर स्केलको भूकम्पबाट बाँचेपछि मलाई जीवनी लेख्ने उत्प्रेरणा मिलेको थियो, यसवर्ष नेपालमै अर्को ठूलो भूकम्पको धक्का बेहोरेपछि त्यो अठोट अझ बलियो बन्न पुग्यो, मुलुकका भावी पुस्ताको निम्ति मेरो जीवन र भोगाइ उत्प्रेरक बनिदिन सकेछन् भने म शौभाग्यशाली ठान्नेछु ।’

उनको जीवनीको अंग्रेजी संस्करण ‘विनोद चौधरी–माइ लाइफः फ्रम द स्ट्रिट्स् अफ काठमान्डू टु अ बिलियन डलर एम्पायर’ पुस्तक पसलहरुमा उपलब्ध छन् । यसको मूल्य छ सय ७५ रुपैयाँ राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ