arrow

भानुभक्तको मार्गमा हिँड्नुपर्छ : अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
dp-aryal-29-03.jpg

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल औपचारिक रूपमा स्मरण गरेर मात्र नपुग्ने भन्दै उहाँले देखाएको मार्गलाई व्यवहारमा उतारेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्ने बताएका छन्।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित २१३औँ भानुजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाको विकासमा पुर्‍याएको योगदान ऐतिहासिक र अनुकरणीय रहेको उल्लेख गरे।

उनले भानुभक्तको आदर्शलाई समयानुकूल ढंगले आत्मसात गर्दै भाषा र साहित्यलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका बीच आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताए।

उनले भानुभक्तले देखाएको सरल, स्पष्ट र जनमुखी साहित्यिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

उनले भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर-घरमा पुर्‍याएर जनचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

नेपाली भाषा नेपालको सांस्कृतिक एकताको आधार हुनुका साथै विश्वभर रहेका नेपालीलाई भावनात्मक रूपमा जोड्ने साझा सूत्र बनेको उनको भनाइ थियो।

सभामुख अर्यालले भाषा केवल सञ्चारको माध्यम नभई राष्ट्रको पहिचान, संस्कृति र इतिहासको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि राज्य, साहित्यकार, शैक्षिक संस्था र नयाँ पुस्ताबीच समन्वित प्रयास अपरिहार्य रहेको बताए।

उनले भानुभक्तको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषाको सम्मान र विकासलाई अझ सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ