झिंगाविरुद्ध संघर्ष समिति गठन, धनपालथानमा स्थानीयवासी हैरान
कुखुराको सुली मानववस्तीमा फाल्दा समस्या
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
246
Shares
पथरी । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् ।
झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ ।
पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ ।
पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा त्यसबाट उत्पादित दुर्गन्ध र झिँगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था आएको स्थानीय चटपटे व्यापारी प्रकाश साहको भनाइ छ ।
स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्नुपर्ने, झिँगा नियन्त्रण गर्नुपर्ने, स्वास्थ्यमा खेलबाड गर्न नपाइने माग राखेको झिँगा तथा प्रदूषण विरुद्धको सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीको भनाइ छ ।
उनले भनिन्, ‘पाँचपटक सिडिओ कार्यालय, उद्योग सचिव र उद्योग मन्त्रालयमा नै पुगेर ज्ञापन दिएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ, मागप्रति कुनै सुनुवाइ भएको छैन ।”
झिँगाका कारण स्थानीयवासीले भने घरमा पूजाआजा, विवाह व्रतबन्ध केही गर्यो भने कोही पनि आएर खाना नखाने गरेको बताइएको छ ।
सो क्षेत्रमा दुई हजार घरधुरीका ६ हजार व्यक्ति बस्दै आएका छन् । रासस