काठमाडौं । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अनिवार्य उपस्थित हुनुपर्ने संसदीय दलको बैठकमा सहभागि नहुने सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुन्ती कुमारी शाहीले हाम्राकुरासँग भनिन्, ‘बैठकमा नआउने सांसदहरुलाई स्पष्टीकरण सोधिन्छ ।’ नआएको कारण पनि खुल्छ । संसदीय दलकै बैठकमा स्पष्टीकरण सोधिने प्रमुख सचेक शाहीको भनाई छ ।
यद्यपि, संसदीय दलको बैठक भने तय भइनसकेको उनले जानकारी दिइन् । संविधान संशोधन विधेयकमाथि छलफल र मतदान गर्ने भनिएको संसदको महत्वपूर्ण बैठकअघि ९ जना सांसद अनुपस्थित भएपछि खैलाबैला भएको हो ।
आइतबारको संसद बैठकअघि राप्रपा संसदीय दलको बैठकमा ९ जना सांसद अनुपस्थित भएकोबारे खोजविन् सुरु भएको छ । कति जना सांसद आएनन् ? जवाफमा प्रमुख सचेतक शाहीले भनिन्, ‘त्यही ७, ८ जना आएनन् ।’
संसदीय दलको बैठकमा नआएका सांसदहरु संसद बैठकमा समेत अनुपस्थित भए । राप्रपाले आफ्ना सांसदलाई शनिबार संसदको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको थियो ।
संसदमा संविधान संशोधनका पक्षमा दुई तिहाइ पुगे आइतबारै संशोधन विधयेक विधेयक मतदानमा लैजाने सत्ता पक्षको तयारी थियो । अन्तिम समयमा आएर सभामुख ओनसरी घर्तीले संशोधनमाथिको छलफल विहिबारसम्मका लागि स्थगित गरिन् । दुई तिहाइ नपुग्ने देखेरै सत्ताधारीले बैठक अघि बढाउन चाहेनन् ।