arrow

प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता जारी

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार

काठमाडौं। मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न मनोनयन दर्ता जारी रहेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि ५ बजेसम्मको समय तय गरेको छ। मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन्।

 

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ। 

 

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ।


पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ।

 

यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ । साथै दुई हजार पाँच सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्यका लागि मनोनयन हुने आयोगले जनाएको छ।

 

२५९८ वडा सदस्यमा महिला र दलित महिला गरी पाँच हजार एक सय ९६ वडा सदस्यका लागि महिलाको उम्मेदवारी हुनेछ। प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन्। निर्वाचन प्रयोजनका लागि छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

 

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ। वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

 

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ। उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ। रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ