arrow

युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा, आक्रमणको त्रासका कारण कैयौं कार्यक्रम रद्द

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
ब्रसेल्स । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम रद्द गरिएको जनाइएको छ । ब्रसेल्समा पनि विगत लामो समयदेखि आतङ्कवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा पनि त्रास बढेको हो । 
 
सो हमलाको मुख्य योजनाकार ब्रसेल्समा बस्ने गरेको तथ्य पछि खुलेको थियो । जसका कारण त्यसपछिका दिनहरुमा ब्रसेल्समा व्यापक मात्रामा सुरक्षा सतर्कता अपनाउने गरिएको छ । यस आक्रमणको त्रास अहिले पनि कायमै रहेको बताइन्छ । जसका कारण बेल्जियममा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । ब्रसेल्सका मेयर युभान मायुरले भन्नुभयो– गृह मन्त्रालयको समेत समन्वय र सल्लाहमा हामीले बिहीबार साँझका लागि कुनै पनि कार्यक्रमको आयोजना गरेका छैनौँ । 
तर क्रिस्मस बजारका साथै होटल रेस्टुरेन्टहरु भने खुला नै रहने र ती बजार तथा पसलहरुमा पनि सुरक्षाका कडा र भरपर्दा मापदण्डहरु अपनाउने जानकारी पनि उहाँले दिनुभयो । 
 
नयाँ वर्षको स्वागतका लागि आयोजना हुने कार्यक्रमहरुमा यस्ता आक्रमण हुनसक्ने आशङ्कामा राजधानी ब्रसेल्समा प्रहरीले सुरक्षा खानतलासी गर्ने गरेको छ । यसै क्रममा यस्तो आक्रमणका लागि तयारी गरेको आशङ्कामा बुधबार रातिमात्र दुई जना सङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो । सो पक्राउपछि सरकारले नयाँ वर्षका कार्यक्रमहरु नगर्ने भन्दै हालका लागि आयोजित यस्ता सबै कार्यक्रमहरु पनि रद्द गरिएको थियो । 
 
नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि १३४ जनाको ज्यान गएको थियो । सो आक्रमणको योजना युरोपका विभिन्न देशमा गरिएको तथ्य अनुसन्धानका क्रममा खुलेको छ । साथै आतङ्ककारी संगठन आइएसले पनि युरोपका कतिपय देशलाई लक्ष्यगरेर हमला गर्ने चेतावनी दिँदै पनि आएका छन् । जसका कारण बेल्जियम बाहेकका युरोपका अरु पनि कैयौँ देशमा सुरक्षा सतर्कता अपनाउने गरिएका समाचारहरु आइरहेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ