प्रेस स्वतन्त्रता दिवसको दिन ५ पत्रकारले सुनाए अमेरिकी निर्वाचनको अनुभव
प्रकाशित २०७४ वैशाख २० बुधबार
960
Shares
काठमाडौँ। अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित अमेरिकी दूतावस र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आज ‘स्वतन्त्र तथा निष्पक्ष निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया गर्यो ।
सो अवसरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनको समाचार सङ्कलन गरेर फर्किनुभएका नेपाली पत्रकार मनोज दाहाल, नवीन खतिवडा, अच्युत अर्याल, गिरिश भट्टराई, पशुपति बुढाथोकी र सुनिता पहरीले अमेरिकी राष्ट्रपति निर्वाचनको अनुभव तथा सिकाई स्थानीय तहको निर्वाचनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।
आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले निर्वाचनको स्वच्छता र निष्पक्षताका साथै निर्वाचनको वातावरण निर्माणमा सञ्चार माध्यमको भूमिका अहम् हुने भएकाले सकारात्मक समाचारलाई सञ्चार माध्यमले प्रोत्साहन गर्नुपर्ने बताए।
प्रा प्रवलराज पोखरेलले छोटो अवधिमा तीन तहको निर्वाचन हुन गइरहेको अवस्थामा बाँकी दुई तहको निर्वाचनलाई सफल बनाउन र संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुङ्गा हुने बताए।
अमेरिकी दूतावासका प्रवक्ता एनिका स्टोनह्यामले नेपालमा लोकतन्त्रको स्थायित्व र प्रजातान्त्रिक प्रक्रियामा सहयोग गर्न अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा नेपाली सञ्चार माध्यमले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए ।