arrow

माओवादीसँग तालमेल गर्ने सहमतिपछि देउवामाथि खनिए काँग्रेस कार्यकर्ता

‘तपाईंको प्रधानमन्त्री “पद’’भन्दा हामीलाई हाम्रो आस्था प्यारो छ’

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
cong-maobadi1.jpg

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं, पोखरा र चितवनमा सत्ताधारी माओवादीसँग तालमेल गर्ने सहमति गरेपछि काँग्रेस कार्यकर्ताहरु नेतृत्वमाथि खनिएका छन् । काँग्रेस कार्यकर्ताहरुले सामाजिक संजालमा यो कदम सही नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको कटु आलोचना गरेका हुन् ।

काँग्रेस र माओवादीले विहिबार मात्रै काठमाडौँ, पोखरामा र चितवनमा चुनावी तालमेल गर्ने सहमति गरेका थिए । काठमाडौं र पोखरामा माओवादीले काँग्रेसलाई मेयर छोड्ने, चितवनमा काँग्रेसले माओवादीलाई मेयर छोड्ने सहमति भएको काँग्रेस महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

सामाजिक संजाल फेसबुकमा विद्यार्थी नेता रत्नहरि ढुंगेलले लेखेका छन्, ‘प्रचण्ड पुत्रीको भविष्यको लागि काँग्रेसको संगठन होइन, चितवन काँग्रेसले माओवादीलाई सहयोग गर्न सक्दैन सभापति ज्यू ! बरु हार सहस्र स्वीकार्य छ । अक्षम्य गल्ती नगर्नुस् । तपाईंको प्रधानमन्त्री “पद’’भन्दा हामीलाई हाम्रो आस्था प्यारो छ । जय नेपाल ।’

यस्तै, सन्तोष ढुंगेल लेख्छन्, ‘ यदि यो समाचार सत्य हो भने पार्टी सभापतिलाई के भन्ने ? तालमेलको नाममा पार्टीको अस्तित्व गुमेको आम काँग्रेसी हेर्न सक्दैनन् । त्यसमा पनि चितवन काँग्रेस शोकमा डुब्न सक्दैन ।’

लक्ष्मी कटवालले कडा शब्दमा भनेका छन्, ‘द्वन्द्वको समयमा काँग्रेस कार्यकर्ताको टाउको काट्ने माओवादीलाई पीडित हातले कसरी भोट दिन सकिन्छ र तालमेल भयो, अब काँग्रेसको पतन भा को हो र ?’

पहिलो चरणको निर्वाचनपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चातर्फ संकेत गर्दै कार्यकर्ताहरुले सत्ताको लागि पार्टीको आस्था दाउमा राख्न नसकिने भन्दै चिन्ता गरेका हुन् ।

काठमाडौंकै काँग्रेस नेता प्रगतिमान रञ्जित लेख्छन ' सबै नेताहरुलाई आफ्नो सन्तानलाई उत्तराधिकारी बनाउनै पर्ने अध्याय अन्तर्गत प्रचण्डको रोदन पश्चात भरतपुर महानगरपालिकामा उनको छोरीलाई समर्थन गर्दा एकजना काग्रेसको राजनैतिक हत्या भयो। आफ्नो पार्टि भित्रको भागबण्डा परेर सेरीन बाध्य भएका कार्यकर्ताहरु अब तालमेलको नाममा यसरी राजनैतिक हत्या हुनुपर्दा संगठन कहाँ पुग्ला ? कार्यकर्ताहरू संगठन प्रति किन वफादार भईरहनुपर्ने सोच्न बाध्य भएका छन्। आफ्नो नीजी स्वार्थका लागि कार्यकर्ताहरूको राजनैतिक हत्या गर्न कसैलाई अधिकार छ ??? साधुवाद छ हाम्रा नेताहरू पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई जसले यसको बिरोध गर्नुभयो र कार्यकर्ताहरुको भावना अनुसार सगठन बचाउने प्रयास गर्नुभयो भन्ने समाचार बाहिर आएको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ