arrow

काँग्रेस र माओवादीसँगको तालमेल स्वभाविक, प्राकृतिक र राजनीतिक छः रमेश लेखक 

काँग्रेस र माओवादीको कहाँ कहाँ भयो तालमेल

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
nc-pressrelese1.jpg

ललितपुर। नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उपसमितिले पार्टीको पछिल्लो गतिविधीको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। उपसमितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका हुन् । 

पत्रकार सम्मेलनमा लेखकले राजनीतिक नेकपा माओवादी केन्द्रसँग भएको ध्रुवीकरणका बारेमा जानकारी गराएका थिए। लेखकले भने ' गणतन्त्र,  संघीयता र संविधानको आधारभुत पक्षमा सहमति जनाउने पक्षधरहरुबीच चुनावी तालमेल भएको छ। यो तालमेल स्वभाविक र प्राकृतिक छ। संविधान कार्यान्वयनलाई यो तालमेलले बल दिन्छ।'

नेकपा माओवादी केन्द्रसँग तालमेल भएको उनले बताए। भरतपुरमा काँग्रेसले माओवादीलाई मेयरमा समर्थन गर्ने र पोखरामा माओवादीले काँग्रेसलाई समर्थन गर्ने तालमेल भएको लेखकले बताए। हेटौडा उपमहानगरपालिका र केहि नगरपालिकामा पनि काँग्रेस र माओवादीबीच तालमेल भएको उनले बताए। तालमेल गर्ने निर्णय भएको ठाउँमा त्यसै अनुसार राजनीतिक चरित्र देखाउन उनले आग्रह गरे। 

पार्टीको आधिकारीक उमेद्वारलाई जिताउन उनले आह्वान गर्दै कतै व्यक्तिगत रुपमा उमेद्वारी कायम राखेकाहरुलाई फिर्ता लिन उनले आग्रह गरे। उमेद्वारी फिर्ता नलिए पार्टीले कार्वाही गर्ने उनले भने। चुनावमा काँग्रेसबाट दलित जनजाती मधेशी महिलाको ठूलो संख्या चुनावमा नेतृत्व तहमा उमेद्वार भएको उनले बताए। 

पत्रकार सम्मेलनमा उपसंयोजक गगन थापाले कतिपय पार्टीका साथीहरुले हालेको वागी उमेद्वारी फिर्ता लिएको बताए ।

काँग्रेस र माओवादीको कहाँ कहाँ भयो तालमेल
नेपाली काँग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेदवारीमा तालमेल गरेको छ । पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई सघाउने भएको छ भने कांग्रेसले भरतपुर महानगरका माओवादीका मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको हो । यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिकामा माओवादीले कांग्रेसका मेयरका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्नेछ भने थाहा नगरपालिकामा कांग्रेसले आफ्ना उम्मेदवारको नाम फिर्ता लिदै माओवादी उम्मेदवार लबशंकर बिष्टलाई साथ दिने सहमति भएको छ । 

धादिङको निलकण्ठ नगरपालिकामा पनि तालमेल गरेर चुनावमा जाने दुई पार्टीको स्थानीय नेतृत्वले सहमति गरेको छ । सहमति अनुसार मेयरमा कांग्रेसका उम्मेदवार भीम ढुंगाना रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट शैलेश भण्डारी उपमेयरमा चुनाव लड्ने भएका छन् । यसैगरी भीमेश्वर नगरपालिका दोलखामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईश्वर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ भने उपमेयरमा माओवादीकी कमला कार्की उम्मेदवार बनेकी छिन् । डोल्पाका स्थानीय जिल्लाका नेताहरुको सहमतिमा ठूली भेरी नगरपालिकामा पनि चुनावी तालमेल भएको छ । जसअनुसार माओवादीले आफ्नो उम्मेदवारको नाम फिर्ता लिदै कांग्रेसका मेयरका उम्मेदवार सुवर्ण बुढालाई सघाउने भएको छ भने कांग्रेसले उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मीचन्द्रा कार्कीलाई सहयोग गर्ने सहमति भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ