काठमाडौं । नेपाली काँग्रेसका पुराना नेता मार्सल जुलुम शाक्यको निधन भएको छ । ७७ वर्षीय शाक्यको ग्रान्डी अस्पतालमा निधन भएको हो ।
एक हप्ताअघि मुटुको शल्यक्रिया गरिएका शाक्यको अस्पतालमै उपचाररत रहेका अवस्थामा पानी पिउँदा सर्किएर शनिबार बिहान ८ः४७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली काँग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई किसुनजीको नेतृत्वमा ०४७ सालमा गठित अन्तरिम सरकारका सदस्य शाक्यले नेपालको संविधान ०४७ जारी गर्नसमेत अहम् भूमिका खेलेका थिए ।
सन् १९४० को अक्टुबरमा जन्मिएका शाक्य पहिलो पटक राजा महेन्द्रको ‘कू’ का समयमै गिरफ्तार भएका थिए ।
त्यसपछि उनले अनवरत काँग्रेसकै राजनीति गरे । उनी रामराजाप्रसाद सिंहसंग बैठकमा बसेको आरोपमासमेत पक्राउ परेका थिए ।
मानवअधिकारबादी संस्थामा समेत रहेका शाक्य एम्नेष्टी इन्टरनेशनलका संस्थापक सदस्य हुन् ।