पोखरा लेखनाथ महानगरको घरदैलो कार्यक्रममा ८ सय ५६ प्रवेश गरे काँग्रेसमा
उद्योग वाणिज्य महासंघका अध्यक्ष घरदैलो अभियानको अग्र मोर्चामा
प्रकाशित २०७४ वैशाख २३ शनिबार
586
Shares
पोखरा। चुनावी प्रचारको क्रममा यतिबेला विभिन्न दलको तर्फबाट पोखरा लेखनाथ महानगरमा उम्मदेवारी दिएका उम्मेदवारहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। महानगरको ३३ वटै वडामा काँग्रेसले प्रचारलाई तिव्रता दिँदै शुक्रबार पनि विभिन्न तहमा उम्मेदवारी दिएका उम्मेदवारहरुले सबै वडामा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरेका छन्। महानगरको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका रामजी कुँवर र सरस्वती गुरुङसँगै सम्पूर्ण वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरु काँग्रेसको पक्षमा माहौल बनाउन खटिएर लागेका छन्।
सोही क्रममा शुक्रबार महानगरको मेयर र उपमेयर पदका उम्मदेवारी दिएका कुँवर र गुरुङले ४ वटा वडामा चुनावी सभाको आयोजना गरे । महानगरको वडा नम्बर १९, १६, १ र २५ मा उनीहरुले चुनावी सभा गर्दै आगामी चुनावमा जनतालाई काँग्रेसको पक्षमा भोट हाल्न आह्वान गर्दा सयौंको संख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको काँग्रेस पोखराले जानकारी दियो।
चुनावी प्रचारको क्रममा विभिन्न वडामा पुगेका नेपाली काँग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरुप्रति अन्य दलका प्रतिनीधिहरुले पनि चासो देखाएका छन्। उनीहरुले काँग्रेसप्रति आकर्षित हुँदै भरपर्दो पार्टी मानेर काँग्रेस प्रवेश गरेको जनाएका छन्। काँग्रेस प्रवेश गर्नेहरुमा एमाले र माओबादी केन्द्रका जिम्मेवार पदमा बसेका व्यक्तिहरु समेत रहेको काँग्रेसको दाबी छ। शुक्रबारमात्रै विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गर्नेहरुको संख्या ८ सय ५६ जना रहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ।
उम्मेदवारहरुले पोखरा–लेखनाथ महानगरको भविष्यको चिन्ता गर्दै काँग्रेसको पक्षमा जनताले मत हालेको खण्डमा यहाँको कायापलट गर्न सकिने प्रतिबद्धता जनाए। पोखरामा समस्याको रुपमा रहेको सुकुम्बासीहरुको समस्यालाई ३ वर्षभित्रमा समाधान गरिने उनीहरुले बताए। त्यो सँगै एकल महिला, बालबालिका, वृद्धवृद्धा, युवा तथा सम्पूर्ण किसानहरुको आर्थिक वृद्धिदर बढाउनका लागि पहल गरिने समेत उनीहरुले दाबी गरे।
चुनावी प्रचार सभामा नेपाली काँग्रेसका पुर्वमहामन्त्री तारानाथ रानाभाट, पुर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, संसद शारदा पौडेल, वृन्दा राना, नेपाली काँग्रेसका पुर्वसभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, महासमिति सदस्य एवं युवा नेता देवराज चालिसे, बाबुराम आचार्य, रामचन्द्र त्रिपाठी, प्रा. धर्म अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाली काँग्रेस कास्कीका सदस्य शंकर ढुंगाना लगायतले काँग्रेसलाई जिताउन जनतासँग आग्रह गरेका थिए। मुल्मी पनि प्रचारप्रसारको अग्रमोर्चामा रहेका छन्। ‘काँग्रेसको जितले मात्र अन्तराष्ट्रियस्तरमा पोखराको उँचाई बढाउन सकिन्छ। पर्यटनमार्फत देशको सम्बृद्धिमा टेवा पु¥याउन पनि काँग्रेसको जित आवश्यक छ।’ नेताहरुले भने–‘झुठो आश्वासन बाँड्ने कम्युनिष्टहरुलाई जनताले राम्रोसँग चिन्नुपर्ने उपयुक्त बेला यहि हो।’
देशको विभिन्न चरणको आन्दोलनको नेतृत्व गर्दै आएको काँग्रेसले स्वतन्त्रताको रक्षा र परिवर्तनलाई संस्थागत गर्ने ताकत राख्ने उनीहरुले बताए। पोखरा १९ मा पुष्पेन्द्र पाण्डे, वडा नम्बर १ मा टंकप्रसाद शर्मा, वडा नम्बर १६ मा पदमसिंह गुरुङ र वडा नम्बर २५ मा दानबहादुर थापा काँग्रेसको तर्फबाट महानगरको वडास्तरिय चुनावमा होमिएका छन्।
योसँगै आसन्न स्थानिय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले पोखरा–लेखनाथ महानगरको प्रत्येक वडामा घरदैलोलाई तीव्रता दिएको छ। महानगरको ३३ वटै वडामा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका महानगर प्रमुख र उपप्रमुखसँगै वडाका सम्पूर्ण उम्मेदवारहरुलाई यतिबेला चुनावी प्रचारको क्रममा जनताको घरदैलोमा पुगेका छन्।
महानगरको वडा नम्बर १७ मा शुक्रबार नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेका थिए। बिरौटा क्षेत्रमा भएको घरदैलोको क्रममा वडामा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका पुण्डरी बरालसहित महिला सदस्य विन्दु कार्की, दलित महिला सदस्य रेखा सेवा परियार र खुला सदस्यहरु विक्रम भण्डारी, विनम गुरुङ लगाएत काँग्रेस कास्कीका विभिन्न तहका नेताहरु सहभागी थिए।
यसैक्रममा शुक्रबार पोखरा लेखनाथ वडा नम्बर २२ मा वडा अध्यक्षका उम्मेदवार अशोक गुरुङसहित थुप्रै काँग्रेसका प्रतिनीधिहरुले त्यस क्षेत्रका जनताका घरदैलोमा पुगी आफ्नो पक्षमा मत हाल्न आग्रह गरेका छन्। ‘स्वच्छ छवि, सबल नेतृत्व’ नारा दिएर घरदैलोमा चुनावी अभियान लिएर पुगेको नेपाली काँग्रेसका उम्मदेवारहरुले वडा नम्बर २२ मा आफ्नो जित सुनिश्चित भएको खण्डमा थुप्रै विकासका काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
वडा नम्बर २२ मा भएको घरदैलो कार्यक्रममा अध्यक्षका उम्मेदवार अशोक गुरुङसँगै नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रकाश बराल, आदिवासी जनजाति संघका क्षेत्रीय सभापति देउकाजी गुरुङ, ईकाई उपसभापति चेतभक्त बराल, नेता खेमराज पौडेल, पुर्वसभापति राजबहादुर गुरुङ, पुर्व गाविस अध्यक्ष कप्तान पिकप्रसाद गुरुङ, नगर कमिटि सदस्य केशवराज बराल, तरुण दलका वडा ईकाई सभापति विष्णुप्रसाद बराल लगाएतको टोली रहेको छ।
यसैगरी पोखरा महानगरपालिका वडा नम्बर २३ को घरदैलो ठुलाखेत, घाटिँछिना, बरेङ, मकवानपुर र सिधानेमा सम्पन्न भयो। अध्यक्षका उम्मेदवार विष्णुप्रसाद पराजुलीसहित किसान संघ कास्कीका सभापति भेषराज पराजुली, वडा ईकाई सभापति रामकाजी गुरुङ, प्रचारप्रसार सँयोजक हरि लामिछाने, अर्थ संकलन समितिका सँयोजक भीम राना, नेविसंघ कास्कीका पुर्वसभापति लक्ष्मी पौडेल, गाविसका पुर्वअध्यक्ष हरिभक्त पौडेल सहितको टोलीले निरन्तर जनताको मन जित्नका लागि घरदैलो कार्यक्रमलाई तिव्रता दिएको प्रचारप्रसार समितिले जनाएको छ।
घरदैलोको क्रममा काँग्रेसका उम्मदेवारसहितको टोलीले त्यस क्षेत्रमा विकासको नयाँ वहार ल्याउने प्रतिबद्धता जनाएका थिए । पार्टीका विभिन्न भातृ संस्थाहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, भुपु सैनीक संघ, किसान संघ, साँस्कृति संघका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । १ हजार १ सदस्यीय समिति गठन गरेर चुनाव प्रचार गरिराखेको समेत प्रचार समितिले जनाएको छ ।
गाउँपालिकामा पनि काँग्रेस जनताको घरदैलोमा
यसैगरी कास्की जिल्ला अन्तरगत रहेका सम्पूर्ण गाउँपालिकाहरुमा काँग्रेसको प्रचार अभियान तीव्र रुपमा अगाडि बढेको छ । सोहि क्रममा प्रचारप्रसारमा सहयोग पु¥याउनका लागि नेपाली काँग्रेस कास्कीका सभापति शुक्रबार मादी गाउँपालिकातर्फ लागेका छन् ।
उनले त्यहाँ पुगेर स्थानीयस्तरमा काँग्रेसको माहौल बनाउन आफ्नो भुमिका रहने बताएका छन् । पार्टी सभापति कृष्ण केसीले मादी गाउँपालिका अन्तरगत वडा नम्बर ६ र ७ लगाएत छाचोक, मादीघाट, तप्राङ लगाएत क्षेत्रमा अध्यक्षका उम्मेदवार देवीजंग गुरुङसहित चुनावी सभामा सहभागीता जनाए । सभामा युवा नेता देवराज चालिसे, जिल्ला सदस्य ओमप्रकाश गुरुङ, महिला नेतृ रसकुमारी गुरुङ लगाएत सहभागी रहेका थिए ।
सभामा बोल्दै सभापती केसीले आसन्न स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा भोट हाल्न त्यहाँका जनतासँग अपील गरे । ‘सिंगो कास्की जिल्लाका जनता नेपाली काँग्रेसको पक्षमा छन् ।’ उनले भने–‘सबै लाग्नुस्, काँग्रेसको जित सुनिश्चित छ ।’ उक्त टोली खिलाङ हुँदै सिक्लेसको चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।