संघीय गठबन्धनको फाट्यो एक चिरो : ‘उपेन्द्रलाई हुत्याएर महन्थ हिरो’
प्रकाशित २०७४ वैशाख २३ शनिबार
501
Shares
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संयोजक उपेन्द्र यादवलाई कारबाही गरेको वक्तव्य निकालेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठबन्धनको संयोजकबाट हटाइएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनमा भएका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका मूली महन्थ ठाकुरलाई गठबन्धनको संयोजक बनाइएको छ । मधेसी मोर्चासहित गठबन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ । यद्यपि, उपेन्द्र यादवले गठबन्धनको बैठक नै नबसी जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले विज्ञप्ति निकालेको आरोप लगाएका छन् ।
मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले भनेको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’
राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निश्चित विन्दुमा लैजान संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको नेताहरुले बताएका छन् । गठबन्धनका नेताहरुको यो निर्णयले संघीय समाजवादीसँगको दुरी बढाएको छ ।