काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गोरखापत्रलाई स्तरीय बनाइने बताए। गोरखापत्र संस्थानको ११७ औँ वार्षिकोत्सव तथा दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले गोरखापत्रलाई नयाँ उचाइमा पु¥याउँदै स्तरीय बनाइने बताए। उनले नेपाली पाठकका लागि गोरखापत्र पठनीय भएको उल्लेख गर्दै गोरखापत्रले गाउँगाउँका समाचार दिइरहेकोमा सन्तोष व्यक्त गरे।
सञ्चारमन्त्री कार्कीले गोरखापत्रको औचित्य अझै बढेको बताउँदै सरकारले गोरखापत्रलाई निजीकरण नगर्ने प्रतिबद्धता व्यक्त गरे । “निजीकरण गर्छ कि भन्ने कर्मचारीले चिन्ता गर्नु भएको रहेछ”–उनले भने, “चिन्ता लिनु राम्रो हो । तर हामी गोरखापत्रलाई निजीकरण नभई अझ सक्षम र सवल गराउँछौँ ।”
सञ्चारमन्त्री कार्कीले गोरखापत्रको स्तरोन्नतिका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “गोरखापत्र बनाउने हात तपाइँहरुको हो । सम्पदकीय, लेख तथा लेखन सामग्री राम्रो बनाउनु प¥यो”–उनले भने, “अरु जस्तोसुकै सहयोग गर्न सरकारले गर्न तयार छ ।” अरु पत्रिकाको नक्कल नभई आफ्नै मौलिकता र सकारात्मक सामग्री गोरखापत्रमा छापिनुपर्ने उनको भनाइ थियो ।
सङ्घीय संरचनाअनुसार गोरखापत्रलाई सातै प्रदेशबाट प्रकाशित गर्ने तयारी भइरहेको बताउँदै उनले गोरखापत्रले सबै भाषाको सामग्री प्रकाशित गरेर नेपाली भाषा र विभिन्न जातजातिको मातृ भाषालाई समृद्ध बनाउन सहयोग मिलेको बताए।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा जनशक्ति र प्रविधीले पनि गोरखापत्रको आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । उनले गोरखापत्रलाई नयाँ संरचनामा लगेर कानुनी, भौतिक र आर्थिकरुपमा सक्षम बनाइने उल्लेख गरे।
संविधानविद् काशीराज दाहालले मुलुकलाई सङ्कट पर्दा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्राध्यापक एवम् वरिष्ठ पत्रकार पी खरेलले सात प्रदेशमा गोरखापत्र पु¥याउनु आवश्यक रहेको बताए। सो अवसरमा संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रका पुराना अङ्कलाई डिजिटल अर्काइभ ९अभिलेख० मार्फत अनलाइनमा राख्ने तयारी भइरहेको बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रा खरेललाई रु ५५ हजार ५५५ राशिको दोस्रो ‘गोरखापत्र राष्ट्रिय पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । यस्तै, ‘गोरखापत्र सम्मान–२०७४’ वाट गोरखापत्रमा योगदान गरेका विभिन्न चार व्यक्तित्वलाई सम्मान गरिएको छ । बरिष्ठ पत्रकारद्वय भारतदत्त कोइराला र गोकुलप्रसाद पोखरेल, प्रशासक राधारमण उपाध्याय र साहित्यकार शिव रेग्मीलाई सो अवसरमा सम्मानित गरिएको थियो ।
यस्तै, उत्कृष्ट कर्मचारीको पुरस्कार रु २५ हजारको सागरप्रसाद ढुंगाना र गोरखापत्र पत्रकारिता पुरस्कार ‘द राइजिंग नेपाल’का नायब कार्यकारी सम्पादक गान्धीराज काफ्लेलाई प्रदान गरियो । रासस