६५० अर्वमा काठमाडौंमा नयाँ चार नगर बनाउने मन्त्री केसीले गराए निर्णय
प्रकाशित २०७४ वैशाख २५ सोमबार
933
Shares
काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह के.सीले काठमाडौंमा ६५० अर्वमा ४ नयाँ नगर बनाउने आफ्नो महत्वाकाँक्षी योजनालाई वास्तविकतामा ल्याउन थालनी गरेका छन्। मन्त्री केसीकै अध्यक्षतामा आइतवार बसेको काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौं वैठकले काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने निर्णय गरेको हो।
वैठकमा सहरी विकास राज्य मन्त्री, सहरी विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्था, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु, मध्यमान्चल क्षेत्रीय प्रशासक, काठमाडौं र ललितपुर महानगरपालिकाहरु लगायत किर्तिपुर, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृतहरुको उपस्थिति थियो।
काठमाडौं उपत्यका भित्र नगरको भौतिक विकास योजना कार्यान्वयन गर्ने सम्वन्धमा काठमाडौं उपत्यका भित्रका चार वटै दिशाहरुमा चार वटा नयां नगरहरु निर्माण गर्नका लागि सो क्षेत्रमा भौतिक परिवर्तन र टुक्रयाउन नपाउने गरी रोक लगाउने समेत निर्णय भएको छ ।
सहरी विकास मन्त्री अर्जुन नरसिंह के.सीको विशेष पहलमा स्वीकृत गरिएको चार वटा नगरहरुमध्ये काठमाडौंको पूर्व उत्तरमा करिव एक लाख रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट रु.एकसय अर्व र निजी क्षेत्रवाट रु. चारसय अर्व गरि ५ सय अर्व रुपैयां ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । सहरको संरचना जग्गा एकीकरणको माध्यमवाट निजी र जग्गाधनीहरु समेतको संलग्नतामा सम्पन्न गरिने छ । यसका लागि अन्तर्राष्ट्रिय स्टेट अफ आर्ट सहर निर्माण गर्न सोसंग सम्वन्धित विज्ञहरुको सेवा परामर्श लिईने भएको छ ।
त्यसैगरी काठमाडौंको दक्षिण पश्चिम, पूर्व दक्षिण र उत्तर दिशामा दश दश हजार रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट रु. दश अर्व र निजी क्षेत्रवाट रु.चालिस अर्व गरि ५० अर्व रुपैयां प्रत्येक नयाँ नगरहरुमा ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । यी नयां नगरहरुमा पनि जग्गा एकीकरणको प्रकृयाद्धारा व्यवस्थित सहरीकरण गरिने छ ।
काठमाडौं उपत्यका भित्र नयां नगरको चार किल्ला सहित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी नगर निर्माणको कार्य अगाडी बढाईने तयारी भएको छ । यसमध्ये पूर्व उत्तरको नयां नगर पहिलो प्राथमिकतामा रहेकोले उक्त कार्य तत्काल अगाडी बढाईने मन्त्री केसीको सचिवालय सदस्य निरन्जन थापाले जानकारि दिए।