arrow

सन् २०१६ का सम्भावित विश्व घटना

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
world-map-hero.jpg.jpeg
काठमाडौं । सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढावहरु आए । खासगरी राजनीति तथा आर्थिक रुपमा अब्बल मानिएका संसारका ठूला देशहरुको सम्बन्धमा विश्व राजनीति आधारित रहनु स्वाभाविकै त हो तर पनि यो राजनीतिलाई यसवर्ष आतङ्कवादले नै बढी छायामा पारेको देखियो । 
 
त्यसैले गर्दा पनि विशेषगरी यस वर्षको विश्वको ध्यानाकर्षण दुई पटकसम्म फ्रान्सको पेरिसमा भएका आतङ्कवादी हमलामा भएको थियो । सन् २०१५ को जनवरी ७ मा पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको आतङ्कवादी हमलामा परी पत्रिकाका एकजना सम्पादकसहित १४ जनाको ज्यान गएको थियो । युरोपको एक सम्पन्न यस देशमा सायद यसअघि कहिल्यै कल्पना समेत नगरिएको आतङ्ककारी घटना भयो र त्यसले संसारकै ध्यानाकर्षण पनि गरायो । 
 
मुस्लिम अतिवादी समूह, आइएसको उदयले सन् २०१५ मा राम्रै चर्चा पायो । आइएसको पटक पटकको पेरिस हमलादेखि सिरिया र इराकमा उनीहरुका ज्यादति सन् २०१५ मा संसारका सञ्चारमाध्यमहरुको समाचार बन्न पुग्यो । त्यस्तै सिरिया विगतदेखिकै एउटा टाउको दुखाई बनिरहेको सिरियाको समस्या मत्थर हुने कुनै पहल नै यस वर्ष भएनन् । तर यसले विश्व राजनीतिमा पटक पटक चर्चा भने पायो । त्यहाँको गृहयुद्धका कथाहरुले विश्वका सञ्चारमा नै स्थान प्राप्त गर्नपुग्यो । 
 
क्रिमिया रसियामा मिलाएपछिको विवादले सन् २०१५ मा पनि चर्चा पाएको थियो । त्यस विवादले मात्र नभएर त्यस विवादका कारण उत्पन्न रसिया अमेरिका सम्बन्धका उतार चढावहरु यस वर्ष पनि देखिए । अमेरिकाले युक्रेनमा पछिल्लो समयमा पनि जारी रहेको पृथकतावादी हिंसामा रसियाको हात रहेको दाबी गरी नै रह्यो भने अर्कातर्फ रसियाले अमेरिकाको सो आरोपमा कुनै दम नरहेको भनी विरोध गरिरह्यो । 
 
इजिप्टमा रसियाली विमान खसालेको घटनाले एउटा विमान दुर्घटना भएर २२४ जनाको ज्यान गएको मात्र भन्दा पनि यसले विमानभित्र बम राख्ने र यसरी आकासबाटै विमान खसाल्नसक्ने गरी आतङ्ककारी क्रियाकलापले कसरी प्रवेश पायो भन्ने चिन्तालाई बढाइदिएको छ । त्यसैले आगामी वर्षमा यस्ता घटनाले प्रवेश कदापि नपाउन भनेर पनि सन् २०१६ का लागि सोच्नुपर्ने दिशानिर्देश गर्दछ । 
 
सन् २०१५ का कतिपय घटनाहरुले आगामी वर्षमा पनि निरन्तरता पाउने निश्चितजस्तो देखिएको छ । यसवर्षको अन्त्यसम्म आइपुग्दा सिरियाको समस्याले समाधानको बाटो देखाउन सकेको देखिँदैन । सिरियामा नागरिक हत्याको शृंखलाको अन्त्य अब कहिले होला भन्ने प्रश्नको भरपर्दाे र चित्तबुझ्दो जवाफ अहिलेसम्म भेटिएको छैन । त्यसैले यो निराशाले आगामी वर्षमा पनि प्रवेश पाउने मात्र नभई निरन्तरता नै पाउने त होइन भन्ने आशङ्का पनि जिवीतै राख्दछ । 
 
अर्कातर्फ आइएसको त्रासले पनि विश्वलाई जसरी सन् २०१५ मा सतायो त्यसैगरी यसले आगामी वर्षलाई पनि छुने देखिन्छ । उता अफगानिस्तान र इराकका आफ्ना समस्याहरु आजसम्म पनि निरन्तर नै रहेका छन् । त्यहाँ पनि दिनहूँ नागरिक मारिने क्रम जारी नै छ । त्यसले पनि सन् २०१६ लाई छोइसकेको छ । तर यस्ता हत्या हिंसाका शृंखलाहरुले यो भूगोलमा कहिल्यै पनि निरन्तरता नपाउन भनेर कामना संसारका मानिसले गरिरहेका छन् । 
 
यस वर्षको अर्काे एक प्रमुख चर्चा संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिको निर्वाचनले पनि लिने नै छ । त्यसमा पनि अमेरिकाको पहिलो महिला राष्ट्रपतिको दौडमा हिलारी क्लिन्टन देखिएकोले पनि यसले त्यहाँ ठूलै चर्चा पाउने अपेक्षा गरिन्छ । क्लिन्टन अमेरिकाका पूर्व विदेशमन्त्री हुनुहुन्छ । साथै अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी । त्यसैले पनि अबको राष्ट्रपतीय उम्मेदवारमा उहाँ निकै दरिलो उम्मेदवार हो । 
 
विश्वमा सन् २०१६ मा के कस्ता कार्यक्रमहरु छन् र मुख्य घटनाहरु के होलान भनी एएफपी समाचार समितिले केही तथ्यहरुको टिपोट गरेको छ । त्यसमा खासगरी अमेरिकामा राष्ट्रपति निर्वाचन, ओलम्पिक खेलकुद महोत्सव, युरोपेली संघ च्याम्पियनसीप फुटबलखेललगायत वर्षभरी आयोजना हुने मुख्य–मुख्य अन्तर्राष्ट्रिय कार्यक्रमहरुको हुने मुख्य कर्यक्रमको सूची यसरी बनाएको छ । ती सम्भावित घटनालाई अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ । 
 
जनवरी 
१५– पश्चिमी अफ्रिका । त्यस मितिसम्म नयाँ सङ्क्रमण देखा नपरेमा इबोला महारोग उन्मूलन भएको घोषणा गरिने छ । 
१६– तानवान, राष्ट्रपति र संसदको निर्वाचन हुने । 
२६– फिलिपिन्स । जापानी सम्राट अकिहितो र साम्राज्ञी मिचिकोको पहिलो फिलिपिन्स भ्रमण । 
जनवरी अन्त्यतिर, भियतनाम । (मिती तोकिइनसकेको) १२ औँ कम्युनिष्ट पार्टी कँग्रेस बैठक हुने । 
 
फेब्रुअरी 
४, बेलायत । सिरियाली शरणार्थीको विषयमा लण्डनमा सम्मेलन हुने, 
८, चीन । चिनियाँ नववर्ष–बाँदर वर्ष मनाइने । 
१२, मेक्सिको । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसको भ्रमण सुरु हुने । 
१८ र १९ बेल्जियम । बेलायतलाई सशर्त युरोपियन सङ्घको सदस्यता दिने विषयमा शिखर सम्मेलन हुने 
२६– स्विट्जरल्याण्ड, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्षपदको निर्वाचन हुने 
 
मार्च 
१२, मिति तोक्न बाँकी युरोपेली सङ्घ÷रुसको संयुक्त लगानीमा तयार भएको अन्तरिक्ष यान– एक्सोमार्स २०१६ को प्रक्षेपण हुने यस यान अक्टोबर महिनामा मङ्गलग्रहमा अवतरण गरिसक्ने लक्ष्य राखिएको छ । 
 
अप्रिल 
१३, दक्षिण कोरिया । आम निर्वाचन सम्पन्न हुने । 
९, फिलिपिन्समा आम निर्वाचनसम्म हुने । 
१६ देखि १९ सम्म, डेनमार्क । स्वास्थ्य र मानवअधिकारमा महिलालाई प्रदान सेवा विषयको सम्मेलन हुने । 
२० देखि ३१ सम्म, (मिती तोकिनसकेको) उत्तर कोरिया, ३५ वर्ष पहिलो पटक सत्तारुढ दलको कँग्रेस आयोजना हुने । 
 
जुलाई 
१०, फ्रान्स । युरो २०१६ च्याम्पियनसिप फुटवल खेलको प्रारम्भ हुने । 
१८ देखि २१ सम्म, संयुक्त राज्य अमेरिका । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदरसम्बन्धमा क्लिभल्यान्ड सम्मेलन हुने । 
२५ देखि २८ सम्म, संयुक्त राज्य अमेरिका डेमोक्र्याटिककोतर्फबाट फिलाडेफियामा सम्मेलन हुने । 
 
अगस्ट 
५ देखि २१ सम्म, ब्राजिल । रियो डि जेनेरोमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद महोत्सव हुने । 
१८, रुस । संसदीय निर्वाचन सम्पन्न हुने । 
१९ देखि ३० सम्म (मिति तोकिइनसकेको) हङ्गकङ्ग– संसदीय परिषद्को निर्वाचन सम्पन्न हुने । 
 
नोभेम्बर 
८, संयुक्त राज्य अमेरिका । राष्ट्रपति निर्वाचन सम्पन्न हुने । 
 
डिसेम्बर 
४ देखि ७ सम्म मेक्सिको जैविक विविधता सम्बन्धमा क्यानकुन महानगरमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने । एएफपी (संयोजन तथा अनुवाद एकराज पाठक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ