सडक दुर्घटनामा मातापिता गुमाएका जनार्दन घिमिरेको उपचारका क्रममा निधन
संस्कृत ग्रामको सपना अधुरै रह्यो
प्रकाशित २०७४ जेठ १ सोमबार
665
Shares
दोलखा। अग्रज सञ्चारकर्मी, दोलखा कालिञ्चोक गाउँपालिकामा संस्कृत ग्राम बनाउने अभियानका अभियन्ता, धार्मिक तथा सांस्कृतिक व्यक्तित्व जनार्दन घिमिरेको उपचारका क्रममा निधन भएको छ।
स्थानीय तह निर्वाचनमा मतदानका लागि गृहजिल्ला दोलखा जानेक्रममा सडक दुर्घटनामा परि मातापिता गुमाउनुभएका घिमिरेको समेत राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा उपचारका क्रममा निधन भएको हो। रेडियो कान्तिपुरमा धार्मिक कार्यक्रमका सञ्चालनका साथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहनुभएका घिमिरे संस्कृत तथा पूर्वीय दर्शनका ज्ञाता एवं धुरन्धर विद्धान हुनुहुन्थ्यो।
दोलखाको कालिञ्चोक गाउँपालिकामा संस्कृत ग्राम बनाउने वृहत गुरुयोजनाका साथ घिमिरे केहि बर्षदेखि सक्रिय रहँदै आएका थिए। उनी पूर्वीय ज्ञान र दर्शनको पूनर्उत्थानको लागि सक्रिय रहँदै आएका थिए।
घिमिरेको निधनले दोलखाले मात्र नभइ नेपालले नै एक विद्धान व्यक्तिलाई गुमाएको छ। संस्कृत वाङमयका ज्ञाता र संस्कृत अध्ययेता घिमिरेका संस्कृतका केहि केहि कृतीहरु पनि प्रकाशित छन्। उनको निधनले उनले शुरुवात गरेको संस्कृत ग्रामको सपना अधुरै हुने चिन्ता दोलखावासीको छ। उनले संस्कृतग्राम मार्फत पूर्वीय सभ्यता र ज्ञानको पूनरुत्थान चाहेका थिए तर घिमिरेको निधनले त्यो सपना अधुरै हुने कालिञ्चोक गाउँपालिका तथा दोलखावासीको डर छ।
गत विहिबार दुर्घटनामा पर्नुभएका घिमिरेको बुबा ७६ वर्षिय मुक्तीनाथ घिमिरेको घटनास्थलमै र आमा रत्नकुमारीको उपचारका क्रममा निधन भएको थियो । उहाँका श्रीमती र २ छोराहरु छन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक वक्तव्य निकाली स्वर्गीय जनार्दन घिमिरे र उहाँका मातापिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन्।