arrow

मदन भण्डारी स्मृतिः हत्यारा नखोज्नुको एमाले रहस्य !

logo
बाबु नेपाली 
प्रकाशित २०७४ जेठ ३ बुधबार
madan-bhandari.jpg

काठमाडौं । हरेक वर्ष जेठ ३ गते आउँदै गर्दा गणतन्त्रका महान् हस्ती मदन भण्डारी जहिले पनि दिमागमा आउँछन् । उनी तिनै मदन भण्डारी हुन् जसले ०४६ सालको बहुदल आउँदा सबैभन्दा बढी खुशी मनाए होला । बहुदलपछि कुनै पनि नेपालको कम्यूनिष्ट चर्चित थियो त थिए तिनै मदन भण्डारी । 

त्यतिन्जेलसम्म राजसंस्थालाई छुनु हुन्न भन्ने कम्यूनिष्टको धारबाट एक कदम अगाडि उठेर तत्कालीन माले महासचिव भण्डारीले राजालाई नै चुनौती दिंदै भन्ने गर्थे ‘आउ श्रीपेच फुकालेर चुनावमा लड्न म तयार छु ।’ 
मदन भण्डारीको त्यो तत्कालीन राजा वीरेन्द्रलाई दिएको चुनौतीले देश काँप्दथ्यो । युवाहरुका रौं ठाडा गरिदिन्थ्यो । जोश भरिदिन्थ्यो । जस्तासुकै मै हुँ भन्ने नेताहरु पनि मदन भण्डारीसंग झुक्ने गर्दथे । 

राजालाई चुनौती दिने तिनै मदन भण्डारी जुध्न पुगे तत्कालीन प्रधानमन्त्री एवं अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ संग । किसुनजीको त्यतिबेला वाहीवाही थियो ।

भण्डारीले किसुनजीलाई हराएर जगतलाई अचम्ममा पारे । बहुदलअघि खासै चर्चामा नभएका मदन भण्डारी ०४८ सालको निर्वाचनमा किसुनजीलाई हराएर एकाएक शिखरमा आए । 

त्यतिबेला गिरिजाप्रसाद कोइराला लगायतले किसुनजीलाई हराए भन्ने चर्चा काँग्रेसी बजारमा खुवै चल्यो । किसुनजीमा कुनै कमी थिएन । तर मदन भण्डारीको प्रखर जोशका अगाडि किसुनजीको केही लागेन । 

उनी यतिसम्मका प्रखर थिए कि त्यसले उनको पार्टीका अन्य नेतालाईसमेत छायाँमा पारेको थियो । उनी आफ्नो पार्टीका सिंगो नेता बन्दै थिए । जसले समस्यामा पार्दैथियो उनको पार्टीलाई । 

चर्चाका शिखरमा रहेकै बेलामा ०५० साल जेठ ३ गते दासढुङ्गामा उनको रहस्यमय मृत्यु भयो । गाडी दुर्घटनामा उनको मृत्यु भएको भनिए पनि त्यो मान्न सिंगो नेपाल तयार भएन । सुनियोजित हत्या कहलियो । उनीसंगै जीवराज आश्रित पनि मरे । 

यो घटनापछि एमालेले मदन भण्डारीको हत्या भएको निष्कर्ष निकाल्यो । विपक्षमा भएकाले सरकारलाई यसको आरोप लाग्यो । काँग्रेसको नेतृत्वमा सरकार भएकाले काँग्रेसलाई नै हत्याको आरोप लगाइयो । जीप चालक अमर लामा भने बाँचे ।
 
मदन भण्डारीको निधनपछि उनकी पत्नी विद्यादेवी भण्डारी सोही पदमा उठिन् । जितिन् । विधवालाई जिताए जनताले । उनलाई जिताउनुको एउटै उद्धेश्य के हो भने विद्यामा मदन भण्डारी संस्कार होला ।

एमालेले खुवै चर्का नारा लगाए पनि मनमोहन अधिकारी पहिलो कम्यूनिष्ट प्रधानमन्त्री बने पनि मदन भण्डारीबारे कुनै छानबिनमा चासो दिएनन् । 

लोकतन्त्र आएपछि त कम्यूनिष्ट प्रधानमन्त्रीको बाढी नै लाग्यो । केपी ओली किटेरै मदन भण्डारीको हत्या भएको बताउँथे । उनले पनि चटक्कै भुले आफू प्रधानमन्त्री भएका बेलामा ।

त्यसरी नै भुले माधवकुमार नेपाल, झलनाथ खनाल अनि कम्यूनिष्ट प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र पुष्पकमल दाहाल पनि भए । 

तर त्यसको छिनोफानो लागेन । कसैले पनि छानबिन गरेनन् । त्यतिमात्र होइन विद्यादेवी भण्डारी अहिले मुलुककै राष्ट्रपति छिन् । तर मदन भण्डारीको हत्यारा खोज्ने काम कम्यूनिष्टले गरेनन् ।  

अमर लामाले ०६० सालसम्म पनि दुर्घटनाबारे केही बताएनन् । अन्ततः ०६० सालमा उनको पनि रहस्यमय हत्या भयो । त्यसपछि झनै रहस्य भयो ।

यदि मदन भण्डारीको हत्या भएको थिएन भने ती अमर लामाको पनि हत्या हुने थिएन । तर अचम्म के भने एमालेकै चार जना प्रधानमन्त्री भए । कुनै पनि प्रधानमन्त्रीले वास्ता गरेनन् । 

यसबाट स्पष्ट हुन्छ एमालेसहितका कम्यूनिष्टले आफ्नो नैतिकता गुमाइसकेका छन् । जननेता मदन भण्डारीको हत्या भयो भनी सोझा जनताबाट मत बटुल्ने काम गरे ।

तर त्यसबारे छानबिन गर्न समितिसमेत गठन नगर्नुले कतै आफूहरु नै जाकिन्छौं कि भन्ने डर पो हो कि ! मृत्युको २४ वर्षसम्म पनि वास्ता नहुनु अनि तिनै भण्डारीकी पत्नी राष्ट्रपति हुँदासमेत कुरो नउठ्नुले भन्छ –‘एमालेको भरोसा छ र ?’
 



नयाँ