धेरै ठूलो आशा थिएन : वडा तहसम्म उपस्थिति जनाउन सक्नु नै नयाँ शक्तिको सफलता :- झा
प्रकाशित २०७४ जेठ ६ शनिबार
217
Shares
काठमाडौं । पहिलो चरणको निर्वाचनको नतिजालाई लिएर विभिन्न पार्टीको उपस्थितिलाई लिएर नकारात्मक टिप्पणी भइरहेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् ।
चुनावी परिणाम राम्रो नआएको भन्दै नयाँ शक्तिका नेताहरु धमाधम माओवादीमा फर्किन लागेको र पार्टी नै छोड्न लागेको भन्दै हल्ला फिजाएकोप्रति नयाँ शक्तिका नेताहरुले खेद जनाए ।
नयाँ शक्तिका नेताहरुले धमाधम पार्टी छोड्दै भन्ने खबर आएपछि आफुहरु आश्चर्यमा परेको नेताहरुले बताएका छन् ।
राष्ट्रिय मामिला संयोजक परशुराम तामाङले भने, ‘देवेन्द्र पौडेल, परशुराम तामाङ, पासाङ शेर्पालगायत माओवादीमा फर्किन लागेको भनेर हल्ला गरियो । यी हल्ला निराधार हुन् । हामी हिजो पनि माओवादी थिएनौ । कहिल्यै पनि हुन सक्दैनौँ ।’ यी हल्लाले हामीलाई तनाव दिएको छ ।
देशबाहिरका संगठनका कसैले छोडे भने मलाई थाहा छैन, उनले थपे, ‘केन्द्र वा जिल्लाबाट कसैले पार्टी छोडेका छैनन् ।’
नयाँ शक्तिकै सहसंयोजक रामचन्द्र झाले आफुहरुबारे अफवाह फैलाइएको बताए । उनले भने, ‘हामी केटा केटी होइनौँ । कच्चा राजनीति गर्दैनौँ । हाम्रो आफ्नै मिसन छ ।’
हामीले धेरै जित्छौँ भनेर आश गरेका थिएनौँ, झाले थपे, ‘आश पनि थिएन । कम्तिमा हामीले वडा तहसम्म उपस्थिति जनाउन सक्यौँ । हाम्रो मिसन त्यही थियाृे । हामीलाई कुनै निराशा छैन ।’
माओवादी वा अन्य पार्टी हामीले राम्ररी चिनेकै हो । झाले भने, ‘राज्य शक्तिको दुरुपयोग गर्ने पार्टीको चंगुलमा परेकाहरुले के भन्छन् भन्ने विषयमा हामी जाँदैनौँ । हाम्रो छुट्टै मिसन छ ।’ हामी गालीको राजनीति गर्दैनौँ ।
सहसंयोजक झाले पहाडमा सद्भाव नभएपनि आफुहरुप्रति मधेसमा सद्भाव रहेको बताए । उनले भने, ‘मधेसमा हाम्रो राम्रो आधार छ । हामी संकल्पनिष्ठ व्यक्तित्वहरु मिसनमा लागेका हौँ । हामी विचलित हुँदैनौँ । एकाध व्यक्तिहरु आउनु जानु स्वभाविक हो । त्यो सबै पार्टीमा छ ।
दोस्रो चरणमा पनि चुनाव चिन्ह संघीय समाजवादीकै
दोस्र्रो चरणमा पनि नयाँ शक्तिले चुनाव चिन्ह संघीय समाजवादीकै राख्ने भएको छ । यस्तै, तराईमा अन्य स्थानीय दलसँग पनि तालमेल गर्ने निर्णय भएको बताइएको छ ।