काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताएका छन् ।
माओवादी केन्द्र संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताएका हुन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ । यही अवधिमा लोडसेडिङको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षाैँदेखि रोकिएको १४ सय किलोमिटरको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ, हाम्रै पालामा महाकालीमा पुल बन्दैछ, १४ वटा ठूला सडकहरु हाम्रै पालामा बन्दैछन्, फास्ट ट्रयाक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलासययुक्त आयोजना सुरु हुँदैछ ।’
यस्तै, प्रधानमन्त्री दाहालले अगाडि भने, ‘आर्थिक वृद्धिदर ७.५५ पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ ।’
तर, यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं । अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं । तपाई सांसदहरु गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुन्, जनतालाई बुझाउनुस् । अरुले पिठो बेचे, हामी चामल त बेचौं, –प्रधानमन्त्री दाहालले भने ।’
प्रधानमन्त्री दाहालले निर्वाचनलाई सामान्य अर्थमा नलिन अनुरोध गरे । उनले भने, ‘निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ । हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो ।
सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ । मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गते चुनाव सार्ने निर्णय गरिएको छ । अब राजपा पनि चुनावमा आउँछ, एमालेका साथीहरुको पनि आलोचनात्मक समर्थन छ । असार १४ को निर्वाचन फेरि सर्दैन, चुनाव हुन्छ, मौसमविदहरुसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ ।’
प्रधानमन्त्रीले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताउनु भयो । ‘छलफल त जारी छ । तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ’, प्रधानमन्त्री दाहालले भने । बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिए ।