arrow

भरतपुर महानगर काण्डको प्रतिवेदन आयोगमा : गोप्य राख्ने, एकै पटक निर्णय सुनाउने

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले छानविन गर्न गठन गरेको टोलीले आयोगलाई प्रतिवेदन बुझाएको छ ।

टोलीले चितवनका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग छलफल गरी प्रतिवेदन तयार पारेको हो ।

टोलीले आयोगलाई प्रतिवेदन बुझाएको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । शर्माका अनुसार टोलीले दिएको प्रतिवेदन गोप्य रहने र त्यसलाई निर्णयको मूख्य आधार बनाइने बनाइने छ ।

उनले भने, ‘यो सार्वजनिक हुँदैन । सार्वजनिक हुने कुरै होइन । प्रतिवेदनका आधारमा आयोगले उपयुक्त निर्णय लिने हो । निर्णय लिनलाई सजिलो होस् भन्ने यसको मूल आसय हो ।’

मध्यरातमा गणना भइरहेकै समयमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार मात्रै सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानविन टोली गठन गरेको थियो ।

टोलीले सोमबारै चितवन पुगेर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले वुधबार आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो । आयोगको बैठकले प्रतिवेदन अध्ययन गरेर निर्णय लिने बताइएको छ ।

टोलीमा सहजकर्ताका रुपमा सहभागी भएका उपसचिव कृष्ण अधिकारीले  टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, जस्ताको त्यस्तै प्रतिवेदन उतारिएको छ, भने ।  

आइतबार राति करिब पौने १२ बजेको समयमा मतगणना हँुदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले माओवादी केन्द्रका दुई जनालाई नियन्त्रणमा लिएको छ । विपक्षी एमालेले माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको जिकिर गरेको छ, भने, माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र समातेर च्यात्न खोजेपछि रोक्ने क्रममा तानातान भएर मतपत्र च्यातिएको बताउँदै आएको छ । माओवादी केन्द्र र काँग्रेसले १९ नम्बर वडामा पुनःमतदानको माग गरेका छन् भने, एमालेले पुनः मतदान नमान्ने र जहाँ थियो त्यहीबाट मतगणना गर्न माग गर्दै आन्दोलन छेडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ