arrow

' औषधी अभाव हुन्न, एक बर्षलाई पुग्ने औषधी र ९० दिनलाई पुग्ने कच्चा पदार्थको मौजात '

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Appon-meeting.jpg

काठमाडौं। नेपाली औषधी उत्पादकहरुसँग एक बर्षसम्म पुग्ने औषधी मौजाद रहेको र कम्तिमा ९० दिनलाई पुग्ने कच्चा पदार्थ समेत रहेको नेपाल औषधी उत्पादक संघले प्रष्ट पारेको छ। कुनै विशेष औषधीको माग भएको अवस्थामा कुनैपनि औषधीको अभाव नहुने प्रतिवद्धता समेत संघले व्यक्त गरेको छ। केहि सञ्चार माध्यममा १५ दिनपछि देशैभरि औषधीको अभाव हुने आसयका समाचार आए लगत्तै बसेको औषधी उत्पादक संघको आकस्मिक वैठकमा सहभागि औषधी उत्पादकहरुले औषधीको कुनै अभाव नहुने र औषधी उत्पादनका लागि कच्चा पदार्थको पनि अभाव नहुने प्रष्ट पारेका हुन्। 

राष्ट्रिय औषधी नीति २०५१, औषधी पैठारी नीति २०७१ र राष्ट्रिय स्वास्थ्य नीति २०७१मा उल्लेख भएका व्यवस्था अनुसार नेपाली औषधी उद्योगलाई प्रवर्दन गरि सम्भव भएका औषधीहरुमा आत्मनिर्भर भई उचित मूल्यमा उच्च गुणस्तरको औषधी सर्वसाधारणलाई उपलव्ध गराउने उद्धेश्यका साथ औषधी व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित विज्ञ समितिले दिएको प्रतिवेदनलाई स्वास्थ्य मन्त्रालयले कार्यान्वयन प्रक्रियामा लगेको अवस्थामा औषधीको अभाव हुने आसयका साथ सम्प्रेषित समाचारप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।  

हालै आपूर्ती व्यवस्था महाशाखाले नेपालमा औषधी उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थमा औषधी सम्वन्धी गुणस्तरको नियमन गर्ने नेपालकै एक मात्र निकाय औषधी व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रहि वोलपत्र आह्वान गरेका कारणबाट उक्त कच्चा पदार्थ पुन आयात गर्न केहि अतिरिक्त दिन मात्र लाग्ने भएतापनि नेपाल औषधीको नियमित आपूर्तीमा कुनै प्रकारको ढीलाई र व्यवधान नहुने प्रतिवद्धता संघले विज्ञप्ती निकाली प्रष्ट पारेको हो। भूकम्प र नाकावन्दीको समयमा समेत देशभर औषधी अभाव हुन नदिएको पृष्ठभुमि स्मरण गराउँदै संघले सरकारले चाहेको बेलामा कुनै पनि किसिम र प्रकारका औषधीहरु उपलव्ध गराउन सक्षम रहेको पनि विज्ञप्तीमा जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको नीतिगत निर्णयका कारण औषधी उद्योगमा राष्ट्रिय पूँजीको विकास भइ निकट भविष्यमा औषधीको आयात प्रतिष्थापन, निकासीको प्रवर्द्धन  भई विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्थामा नेपाली औषधी उद्योग पुग्नुका साथै हजारौमा रोजगारी सिर्जना हुने अवस्था बनिरहेको संघका अध्यक्ष शंकर घिमिरेले बताए। उनले भने, 'यहि बेला केहि सञ्चार माध्यममा आएका समाचारहरु नेपालका स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरि आयात प्रतिष्थापन गर्ने नीतिलाई कार्यान्वयनमा वाधा सिर्जना गर्ने नियतका साथ आएको हाम्रो ठहर छ।' सरोकारवाला निकाय र आम उपभोक्ताहरुमा भ्रम सिर्जना भएकोले सो भ्रममा नपर्न संघका अध्यक्ष घिमिरेले आग्रह समेत गरेका छन्। 

नेपाली औषधी उत्पादकहरुले औषधी व्यवस्था विभागले जारी गरेको विभिन्न अन्तराष्ट्रिय कार्यविधी, मापदण्ड र मानकहरुलाई पालना गर्दै उच्च गुणस्तरीय औषधी उत्पादन गरि उचित मूल्यमा वजारीकरण गर्दै आएको संघले जनाएको छ। संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ती व्यवस्था महाशाखाको नियम वमोजिम नेपाल सरकारबाट बोलपत्रमा माग भएका औषधीहरु पनि आपूर्ती गर्दै आएको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ