arrow

काँग्रेस बैठकमा रामचन्द्र पौडेलको यो सनसनीपूर्ण भाषण

काँग्रेस जोगाउने सूत्रदेखि त्यागसम्मको झटारो 

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
paudel-ramchandra-news.jpeg

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सधै पार्टी संगठनकै चिन्ता रहेको स्पष्ट पारेका छन् । आइतबार बिहान नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले गम्भीर
 बनी अगाडि बढ्न समेत नेतृत्व पंक्तिलाई आग्रह गरेका छन् । 

उनले के के भने बैठकमा ?
—प्रथमतः बैठक बोलाएकोमा धन्यवाद । बैठक नै नबोलाई यत्तिकै जान खोजिएको थियो । बैठक बोलाउनु भयो त्यसले पद्धति र थिति बसाल्छ । 

—अहिलेको सन्दर्भमा पहिलो कुरा त प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ । 

–पहिलो चरणको मतदान हेर्दा सचेत मतदाताले हामीलाई पाठ सिकाउन खोजेको देखियो । बनेपा, चितवन, गैडाकोट, पोखरा लगायतका स्थानहरुमा हाम्रो अवस्था के भयो । अर्कातिर काठमाडौंले एउटा सन्देश दियो । 

—यद्यपि जनता कम्युनिष्ट रोज्न तयार  छैनन्, कांग्रेसको विकल्प खोज्न थालेको हो कि ! अलिकति गहिरिएर सोच्नु पर्छ । 

–कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नु पर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो । 

—हेरौं न सरकारको फाइदा प्रचण्डले लिए, अपजस हामीतिर । हामी भन्दा एमाले अगाडि पुग्यो । सत्तामा गएर सत्ताको फाइदा हामीले लिन नसक्ने ? 

—पार्टीको तेह्रौं महाधिवेशनदेखिनै मैले पार्टीमा सबैलाई मिलाएर लिएर जाउँ भनेको हुँ । 

—उपत्यकामा हाम्रा भोट (४३,००० साझा पार्टी र विवेकशील नेपाली दलले पाएकोले ) कांग्रेसको विकल्प खोज्दै अन्य पार्टीमा गयो ।
यो गम्भीर चिन्ताको विषय हो । नेपाली कांग्रेस एकमात्र सही पार्टी हो भन्ने सन्देश जनतालाई दिनु पर्नेछ । 

—पार्टी सभापतिले अब पार्टीलाई एक बनाएर लैजाने हो भने उहाँले ठूलो छाती बनाएर अगाडि बढ्नु पर्दछ । सिंगो काँग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपाईबाटै शुरु हुनुपर्दछ । एउटा ठोस सन्देश जनतालाई दिन आवश्यक छ । यही परम्परागत शैलीमा सरकार बन्ने, फेरिने हो भने मलाई केही भन्नु छैन । 

—आगामी दिन अत्यन्त कठिन छन् । हाम्रा बाटा अत्यन्त कठिन छन् । यस्तो अवस्थामा सरकार गठन, पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ । सरकार कसरी बन्दछ । 

–म पार्टीकै बारेमा चिन्तित छु । यस्तो अवस्थामा अब पार्टीभित्रको कार्यसञ्चालन, सरकार सञ्चालन, पार्टीका  विभिन्न निकायहरु गठन, कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो, कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिड्ने हो यो एउटा व्यवहारिक पक्ष छ । यसपछि हामीले के गर्छौ, जनतालाई के सन्देश दिने हो ? धेरै प्रश्नहरु छन् । 

—यो बेलामा जनतालाई विश्वास दिलाउने भनेको त्याग देखाउनु पर्छ । त्यागको समय हो यो । दलको नेता आफै हुनुहुन्छ । बहुमत पनि छ । प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ । अब त्यस्तो अवस्थामा तपाईले त्याग गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन । तपाई त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु । कसै न कसैले त्याग गरेर देखाउनु पर्यो ।

–नेपाली कांग्रेसभित्र एउटा डेमोक्रेटिक अल्टरनेटिभ नेतृत्व पार्टीभित्र छ भन्ने देखाउनु पर्यो । 

—सुशीलजीको पालामा पनि म खटेकै हो, उहाँ (शेरबहादुरजी) कति खटिनु भयो ? काँग्रेसलाई ठूलो पार्टी कसरी बनाइयो । सबैले देखेकै छन् । 

—कांग्रेस भित्र सामान्य उपचारले नहुने रोग लागि सकेको छ । शल्यक्रिया गर्नुनै पर्ने भएको छ । 

–मेरो विकनेस  (कमजोरी) भनेको कांग्रेस हो । सधैभरि मैले बरु आफूलाई जोखिममा राखेको छु, पार्टी र प्रजातन्त्रलाई जोखिममा पर्न दिएको छैन । 

—अब काँग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिडाउँने कि नहिडाउँने ? पार्टीभित्र गतिशिलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जागर पैदा गराउने । के गरी जनतामा आशा र भरोसा जगाउँने ? 

—पहिलो चरणको निर्वाचनले राम्रो सन्देश दिएन । दोस्रो पनि राम्रो हुन नसके के हाल होला ? विचार गरौं, सोचौं र अघि बढौ । 

—मैले तेह्रौं महाधिवेशन  उदघाटन गर्दै भनेको थिएँ, “ राजनीतिप्रति जनतामा वितृष्णा व्याप्त छ । राजनीति गर्ने मानिसप्रति जनतामा अनास्था बढेको छ । राजनीतिलाई सम्मानित क्षेत्र तुल्याउने अभियान थालिनुपर्छ ।” 

–अब म त्यसैतर्फ केन्द्रीत हुन्छु । जनतालाई काँग्रेसको विकल्प खोज्न नपर्ने प्रयास गर्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ