arrow

दुई बालिका मृत्यु प्रकरणले तनाव, माडी बन्द आब्हान

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
Chitwan_District.png

रत्ननगर । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर मंगलबार माडी बन्द गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । 

पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न बन्द गरिएको स्थानीयले बताएका छन् । 

नेकपा माओवादी केन्द्र निकट महिला सञ्जालको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा बन्द आह्वान गरिएको जनाइएको छ । 

बालिकाको शरिरका विभिन्न ठाउँमा चोट देखिएको र रगत समेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ । 

सो घटनाको विषयमा महिला सञ्जालले दबाब दिएपछि चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सोमबार घटनास्थल पुगेर स्थलगत निरीक्षण समेत गरेको छ । 

भरतपुरमा पनि महिला सञ्जाललगायत विभिन्न सङ्घसंस्थाले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् । 

शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो । 

शव परीक्षण प्रतिवेदन अलि अस्पष्टजस्तो देखिएकाले घटनास्थलमै पुगेर स्थलगत अवलोकन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । 

उनले गुप्तांग, खुट्टाको काप, कानको लोतीमा टोकेको देखिएकाले केले टोकेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जानकारी दिए । 

घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न १६ वर्ष माथिका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनको भनाइ छ । 

सो घटनापछि माडीका स्थानीयले भने प्रदर्शन जारी राखेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ