काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को मंगलबारको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित चएका छन् । प्रधानमन्त्रीका रुपमा यो उनको चौथो कार्यकाल हो ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उनि बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।
प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय भएका उनि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । । उनि नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । । उनकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुन् । प्रधानमन्त्री देउवाका एक छोरा छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बनेका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनि पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने। तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरिदिए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याए। त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उनि सभापति बने । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि देउवा नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन् ।
प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।