arrow

शेरबहादुरको उदय र गुण–अवगुण

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
Sherbahadur_old.jpg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आफु अहिले धेरै नबोल्ने र गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । यद्यपि, देउवालाई काम गर्न निकै चुनौती छ । देउवा सामु छोटो समयमा तीन तहको चुनाव गर्नु पर्ने र साथमा अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्नु पर्ने चुनौती छ ।

यस्तै, अघिल्ला दुई सरकारले बाँकी छोडेको संविधान संशोधन र संविधानप्रति असन्तुष्टहरुको माग पूरा गर्नुपर्ने ठूलो चुनौती छ । देउवाले प्रधानमन्त्रीको चुनाव लड्दा दुई तिहाई पुग्ने आँकलन गरेकामा ३ सय ८८ सांसले मात्रै उनको पक्षमा मतदान गरे ।
देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन् । संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाले भने, ‘दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।’

देउवाको उदय
मुलुकको ४०औं प्रधानमन्त्री निर्वाचित शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिए ।

युवा अवस्थामा शेरबहादुर देउवा काँग्रेसका महान नेता वीपी कोइरालाका प्रियपात्र थिए । यद्यपि देउवाको वीपीसँग लामो सहकार्य र सामिप्य भने हुन पाएन । देउवाले राजनीति सुरु गर्दा वीपी जेलमा थिए । जेलमुक्त भएपछि उनी भारत निर्वासनमा रहे । २०३३ सालमा वीपी भारतबाट फर्केपछि देउवाको वीपीसँग उठबस सुरु भयो ।

२०३३ सालदेखि २०३९ सालसम्मको कालखण्डमा वीपी आफु जहाँ–जहाँ जान्थे देउवालाई साथमा लैजान्थे । देउवालाई धेरै काखी च्यापेको भनेर कसैले गुनासो गर्दा वीपीले जवाफ दिएका थिए, ‘यो जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् ।’ वीपीकै निगाहमा देउवा दुई कार्यकालसम्म नेविसंघका निर्विरोध अध्यक्ष बनेका थिए ।

वीपीका भाइ गिरिजाप्रसाद कोइरालासित समेत देउवाको सुरुदेखि राम्रो सम्बन्ध थियो । यद्यपि, २०५० सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईविरुद्ध अन्तरघात गर्न नमान्दा देउवासँग गिरिजाको सम्बन्ध बिग्रेको बताउँछन्, काँग्रेस इतिहासका जानकार हरि अधिकारी ।

गिरिजाप्रसाद कोइरालाले २०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा देउवालाई मन्त्रालय रोजाएका थिए । देउवा, रामचन्द्र र शैलजा आचार्यलाई मन्त्रालय रोज्न लगाउँदा देउवाले सबैभन्दा अगाडि गृह मन्त्रालय रोजे । रामचन्द्रले स्थानीय विकास र शैलजाले कृषि मन्त्रालय रोजिन् ।

गृह मन्त्रालय चलाउँदा देउवाको छवि कठोर प्रशासकको जस्तो रहयो । तत्कालीन समयमा मदन भण्डारीको रहस्यमय मृत्युपछि एमालेले सडक आन्दोलन गर्दा देउवाले कठोरतापूर्वक सामना गरे । यद्यपि, मिलिजुली सरकारको प्रधानमन्त्री बन्दा भने देउवाले कडापन देखाएनन् । उनी नरम भए । जसले देउवा सत्ता टिकाउनका लागि जुनसुकै सम्झौता गर्ने ‘सम्झौता परस्त’ प्रधानमन्त्री चित्रित भए ।
 

देउवाका काम
चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका देउवाले यसअघि प्रधानमन्त्री बन्दा थुप्रै महत्वपूर्ण काम पनि गरेकै हुन् । भारतसँग महाकाली सन्धि देउवाकै पाला भएकोे थियो । नेपालमा मूल्य अभिवृद्धि कर लागू गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने गरी कानुन निर्माण गर्ने, कमैया मुक्तिको घोषणा गर्नेलगायतका काम देउवाको पालामा भएका छन् ।

देशका पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा उनले ल्याए ।

देउवाकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए । यस्तै, सरकारबाहिर रहँदा समेत देउवाले समावेशीताका लागि निकै पहल गरिरहे ।

देउवाका नराम्रा काम सुनाउँदा, उनी संसदीय विकृतिका सूत्राधार मानिन्छन् । देउवा प्रधानमन्त्री हुँदाकै वखत सांसद किन बेचदेखि सुत्केरी भत्तासम्मका प्रकरण उब्जेका थिए । देउवाकै कार्यकालमा सबै सांसदलाई भन्सार सुविधामा पजेरो गाडी दिने विवादास्पद निर्णय भएको थियो । सरकार टिकाउनका लागि ठूलो आकारको  मन्त्रिमन्डल बनाउने चलन देउवाले नै सुरु गरेको भन्ने गरिन्छ । सोही इतिहासलाई लिएर देउवालाई फेरि पनि मन्त्रिमन्डल बनाउने सवालमा शंका गरिँदै छ । वर्तमान परिस्थितिमा त झन् गठबन्धन ठूलो भएकाले आकार बढ्ने देखिएको छ ।
 

देउवाका गुण
१.काँग्रेसको मात्रै नभएर नेपाली राजनीतिकै एक प्रमुख पात्र । यसअघि तीनपटक प्रधानमन्त्री बनेको अनुभव ।
२. कुनै पनि विषयमा छिटो र तत्काल प्रतिक्रिया दिन सक्ने । यद्यपि, पछिल्लो समय कम बोल्ने गरेका छन् । आवश्यकता पर्दा तुरुन्त निर्णय लिने र अडानमा कायम रहनसक्ने नेता ।
३. धेरै मुलुकको भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो । देउवा पहिले अमेरिकानिकट मानिन्थे भने, पछिल्लो समयमा भारतको संस्थापनसँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

४. बोल्दा हडबडे रहेपनि राजनीतिक चालबाजीमा पोख्त । आफ्ना समकालीन नेताहरु एक पटक पनि पुग्न नसकेको प्रधानन्त्री पदमा उनीले चौथो पटक सत्तारोण गरेका छन् । यो उनको राजनीतिक चातुर्यकै नतिजा हो । आफु नजिककालाई चाँडै विश्वासमा लिन सक्छन् । तत्काल काम अघि बढाउन सक्छन् ।
५. आफूप्रति बफादार पुरानो पंक्तिलाई टुटाउँदैनन् र हरदम साथ दिन्छन् ।

देउवाका अवगुण
१. सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर हुने पुरानो छवि ।  विगतमा प्रधानमन्त्री पद हासिल गर्न र त्यसमा टिकिरहन थुप्रै जायज–नाजायज सम्झौता गरेको आरोप ।
२. पढे लेखेका भए पनि व्यक्तित्वमा वौद्धिकता झल्किँदैन । सिलसिलेवार बोल्न जान्दैनन् । कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरी भिजन दिन दिएको भेटिएको छैन । काँग्रेसमा नयाँ विचार र दृष्टिकोण दिन सकेका छैनन् ।

३. भाषण गोलमटोल । पत्रकार वा कार्यकर्ताबीच तार्किक रुपमा प्रस्तुत हुन सक्दैनन् । आवेशमा आउने र रिसाहा स्वभाव ।

४. किसान परिवारमा जन्मिएपनि राणा परिवारसँग सम्बन्ध गाँसिएपछि विलासी भएको भन्दै निकै आलोचना हुन्छ । देउवालाई कुनै समय चुरोटप्रेमी भनियो त मदिराप्रेमी नेता समेत भन्ने गरियो ।
५. आफुले पहिले भनेका कुरा पछि सम्झिँदैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ