arrow

निधी र खड्कालाई काँग्रेसमा बाटो खुल्ला

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
bimalendra-purna.jpg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बने लगत्तै काँग्रेसको आन्तरिक राजनीतिको समिकरणका चर्चाहरु हुन थालेका छन्। सरकार गठनको प्रक्रियामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टी जनाएपनि सरकारमा काँग्रेसका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सहित गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र कार्की पुगिसकेका छन्।

श्रेष्ठ उपप्रधानमन्त्री सहित शिक्षाको जिम्मेवारी सम्हाल्न पुग्दा कार्की अर्थ मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्। पौडेल पक्षले अर्थ मन्त्रालय आफ्नो समुहलाई दिन भनेपनि देउवाले अन्तिम समयमा आएर उनलाई दिन नसक्ने जनाउ दिए र त्यहाँ कार्कीलाई ल्याए। उपप्रधानमन्त्रीमा पनि कृष्ण सिटौलालाई ल्याइने चर्चा भएपनि श्रेष्ठलाई ल्याइयो। आखिर उनले पार्टीभित्र अस्तित्वमा रहेका अन्य दुई समुहका नेताहरुलाई किन समेट्न सकेनन् भनेर पार्टीका कार्यकर्ता पङतिमा कौतुहलता उत्पन्न भएको छ। 

काँग्रेस सभापति देउवा पार्टी र सरकार दुवैको नेतृत्व तहमा पुगेका छन्। उनका लागि पार्टी र सरकार दुवै सन्तुलनका साथ चलाउनुपर्ने वाध्यता छ। त्यो भन्दा पनि आफ्नै समुहलाई व्यवस्थित गर्ने चुनौती छ। पार्टी भित्रका अन्य समुहलाई रणनीतिक रुपमा चलाउन माहिर उनले ति समुहका नेताहरुलाई थुम्थुम्याएपनि अन्तमा आफ्नै समुहका नेताहरुको व्यवस्थापन गरि पार्टी र सरकारमा बलियो पकड कायम गर्न खोजेको सन्देश दिएका छन् भलै केहि असन्तष्टी उत्पन्न भएको किन नहोस। 

देउवाको लागि सिटौला उपप्रधानमन्त्रीको रोजाइमा थिए तर उनलाई गृह सहित उपप्रधानमन्त्रीमा ल्याउन माओवादीसँगको सहकार्यले सम्भव भएन। अर्कातिर सिटौलालाई बनाउँदा पार्टीभित्र उपसभापति दावी गर्दै आएका गोपालमान श्रेष्ठलाई चित्त बुझाउन सकिने अवस्था थिएन। उनलाई उपसभापति बनाउँदा नेता विमलेन्द्र निधी विच्किने डर थियो। निवर्तमान गृहमन्त्री निधी अब पार्टीमा उपसभापति सहित जान चाहिरहेका छन्। यो आन्तरिक समिकरणलाई जोगाइ राख्न देउवाले अन्तत्वगत्वा निधीलाई नै सरकारमा कसलाई ल्याउने नल्याउने वारेमा निर्णय लिने जिम्मा दिए। आफूलाई पनि पार्टीमा मार्ग प्रशस्त्र गर्न उनले श्रेष्ठलाई उपप्रधानमन्त्री सहित सरकारमा पठाउन देउवालाई राजी गराए। यसो गर्दा एक तिरमा दुई निशाना हुने थियो। एकातिर सिटौलालाई रोकेर श्रेष्ठलाई ल्याउन सकिन्थ्यो भने अर्कातिर आफूले चाहेको उपसभापतिमा प्रत्यासी घटी एक्लो प्रत्यासी हुने अवस्था बन्ने थियो। यसअघी उपसभापतिका आकाँक्षी रहेका खुम बहादुर खड्का कानुनी हिसावले पदमा वहाल हुन नसक्ने अवस्था सिर्जना भएपछि उनी यसअघी नै रेसबाट वाहिर सकेका छन्। यो अवस्थामा अब बन्ने पार्टी उपसभापतिमा निधी लगभग पक्का भएको देउवा निकटहरु बताउन थालेका छन्। 

काँग्रेस महामन्त्रीमा देउवा समुहबाट आकाँक्षी हुन पूर्ण बहादुर खड्का। उनलाई खुम बहादुर खड्काको समेत समर्थन रहेको छ। उनीसँगै महामन्त्रीका प्रवल दावेदारमा ज्ञानेन्द्र कार्की नै हुन्। कार्कीलाई देउवाले आफ्नै नेतृत्वको सरकारमा शक्तिशाली अर्थमन्त्री बनाएपछि उनको लागि महामन्त्रीको दावी गर्ने अवस्था कमजोर बनेको छ। यो अवस्थामा खड्का नै देउवाको रोजाइको पहिलो मनोनित महामन्त्री बन्ने पक्का झै भएको  छ। सरकारमा जान अनिच्छुक रहेका खड्का पार्टीमै काम गर्न इच्छुक थिए। खड्काको यो कुरालाई बुझेर देउवाले कार्कीलाई सरकारमा लगेका छन्। पार्टीभित्रका कुशल संगठक र रणनीतिकारको परिचय बनाएका खड्कालाई उनले पार्टी संगठनको जिम्मा दिन खोजेका छन्। आफ्नो समुहको व्यवस्थापन गर्ने यो उपयुक्त माध्यमको रुपमा उनले बुझेका छन्। आफ्नो समुहका अन्य महत्वपूर्ण नेताहरुलाई मिलाउन र अन्य समुहलाई थुम्थुम्याउन उनले सहमहामन्त्री र महत्वपूर्ण विभागहरुमा सहमत गराउने तयारी गरेको देउवा निकटहरुले बताएका छन्। देउवाले दोस्रो चरणको स्थानिय निकाय लगत्तै पार्टीमा पदाधिकारीहरुको नियुक्ती गर्नेगरि गृहकार्य गरिरहको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ