काठमाडौं । दार्जिलिङमा राज्य सरकारको क्याविनेट बसेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि दार्जिलिङमा तनाव भएको छ ।
राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा सिंगो दार्जिलिङ आन्दोलित भएका बेला मुख्यमन्त्री ममता बेनर्जीले पहिलो पटक दार्जिलिङमै क्याविनेट बैठक गर्ने प्रयत्न गरिन् । जसलाई गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले विथोल्न खोजेका हुन् ।
दार्जिलिङको भानु भवनमा क्याविनेट बैठक जारी रहेकै बेला मोर्चा कार्यकर्ताले मुख्यमन्त्री बेनर्जीविरुद्ध चर्का नाराबाजी गरेपछि सुरक्षाकर्मीले केही दर्जन सेल अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।
सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी कार्यकर्ता तितरवितर बनायो । सुरक्षाकर्मीको ज्यादती विरुद्ध दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका क्षेत्रमा मोर्चा समर्थकले स्वतस्फूर्त व्यवसाय र सवारी अवागमन बन्द गरेका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीको दुईवटा जीपमा आगजनी गरेका छन्, भने सरकारी बसमा तोडफोड गरेका छन् ।