arrow

देउवालाई च्याप्दै राजपा : चुनावको मिति फेरि सार्न भनेपछि सत्ताधारी तर्सिए

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
rajapa_news_aa.JPG

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागि हुन सहमत गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो प्रयास विफल भएको छ । शुक्रबार संसदमा चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएपछि राजपा नेताहरु देउवासँग चुर भएका थिए । शनिबार सिंहदरबारमा भएको छलफल निष्कर्षविहिन भयो ।

प्रधानमन्त्री देउवाले राजपा नेताहरुलाई चुनावमा सहभागि हुन आग्रह गरेपनि उनीहरुले पहिले १० महिनाअघि आफुहरुसँग भएको ३ बुँदे सम्झौता कार्यान्वयन गरेर आफुहरुका माग सम्बोधन हुनुपर्ने अडान राखे । बैठकमा सहभागि राजपा नेता शरतसिंह भण्डारीले भने, ‘बैठकमा केही पनि भएको छैन । जुनसुकै बेला फेरि संवाद हुन सक्छ । संवाद जारी राख्ने भनिएको छ ।’ सत्ताधारी दलका नेताहरुले राजपाले चुनावको मिति फेरि सार्नु पर्ने भनेपछि बैठक निष्कर्षविहिन भएको बताए । यद्यपि भण्डारीले आफुहरुले चुनावको मितिनै सार्नुस् भनेर नभनेको र आफुहरुका माग सम्बोधन गर्न भनेको बताए ।

उनले भने, ‘सत्ताधारीहरुले नै समय लम्ब्याउँदै जानु भएको हो । असार १४ भित्रै हाम्रा माग सम्बोधन गरे हामी चुनावमा नजाने कुरै हुँदैन । उहाँहरुले समय थोरै रहेको भन्दै आफैले तत्काल संविधान संशोधन हुन सक्दैन भनेपछि हामीले उसो भए समय बढाएर माग सम्बोधन गर्नु भनेका हौँ ।’ यो समयले पुग्दैन ।

बैठकमा सत्ताधारी दलका नेताले राजपालाई नै सहभागि गराउन असार १४ गते सम्मको समय बढाएको बताएपछि जवाफमा आफुरुले त्यसका लागि धन्यवाद भनेको भण्डारीले सुनाए । उनले भने, ‘हाम्रो चुनावको मितिसँग सरोकार होइन । माग सम्बोधन भए थप सोच्न सकिने कुरा हुन्छ । सरकारको नेतृत्व फेरिएपनि गठबन्धन त उही हो । १० महिना अघि यो गठबन्धनले गरेको ३ बुँदे सम्झौताले फेरि पनि परिणाम दिन सकेको छैन ।’ हामी नयाँ कुरा त केही गरेका छैनौँ ।   

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘राजपा नेताहरुले फेरि चुनाव सारेर छलफल गरिएमात्रै चुनावमा आउनसक्ने वातावरण बन्छ कि भन्ने तर्क गर्नुभयो, त्यो सम्भव छैन भनेर सरकार र अरु पार्टीहरुको तर्फबाट प्रस्ट पारियो ।’ सत्तारुढ दलहरुले प्राविधिक अरु समस्या छन् भने निर्वाचन आयोगसँग परामर्श गरेर समाधान गर्न तयार गरेको बताएका छन् । नेता श्रेष्ठले सम्वाद नटुटेको भन्दै फेरि छलफल हुने बताए ।  

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत राजपाले यथास्थितिमा चुनावमा सहभागी हुन नसक्ने बताइरहेकाले अझै वार्ता, संवाद जारी राखिने बताए । राजपालाई सहभागी गराउन भन्दै सरकारले वैशाख ३१ को निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो । यस्तै, जेठ ३१ को निर्वाचन पनि सार्न आग्रह गरेपछि असार १४ गतेलाई तोकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहितको वार्तामा काँग्रेस, माओवादी केन्द्रका नेताले अब चुनाव कुनै पनि हालतमा सार्न सम्भव नभएको बताएका छन् ।

राजपाले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा, मृतकका परिवारलाई राहत लगायत माग पूरा गरिसकेपछि मात्रै चुनावमा भाग लिने अडान लिइरहेको छ । यद्यपि संघीय समाजवादी फोरम भने पहिलो चरणको निर्वाचनदेखि नै सहभागि हुँदै आएको छ । शुक्रबार मात्रै राजपा नेता राजेन्द्र महतोले सप्तरी पुगेर संविधान संशोधन विनाको निर्वाचनमा गएर मृत्युपत्रमा हस्ताक्षर नगर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ