चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९५२ दशमलव ६३ वर्गकिमी पुग्यो
प्रकाशित २०७४ असार २ शुक्रबार
206
Shares
रत्ननगर । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०.६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
९३२ वर्गकिमी रहेकामा निकुञ्जको क्षेत्रफल ३८ वर्षपछि ९५२.६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि क्षेत्रफल वृद्धि भएको यो दोस्रो पटक हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सीमा हेरफेर गरिएको जनाइएको छ ।
विसं २०६० तिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढाइएको अर्यालले जानकारी दिए। निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्र थियो त्यसको पाँच वर्ष पछाडि २०३५ सालमा क्षेत्रफल वृद्धि गरी ९३२ वर्गकिमी बनाइएकामा ३८ वर्षपछि क्षेत्रफल पुनः बढेको निकुञ्जले जनाएको छ ।
चितवन निकुञ्ज विश्व संरक्षण सूचीमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उनको भनाइ छ ।
क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा शाखाका संरक्षण अधिकृत सन्तोष भट्टराईको बिश्वास छ ।
चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने निकुञ्जमा पछिल्लो गणनाअनुसार गैँडा ६०५, बाघ १२०, गौरीगाई ३६८ छ । अहिले सङ्ख्या वृद्धि भइरहेको छ । अन्य सयौँ वन्यजन्तु चरा र विभिन्न प्रजाति निकुञ्जमा छन् । यसको मध्यवर्ती क्षेत्र भने ७२९ वर्गकिमी छ ।