arrow

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि शनिबार राति १ बजेबाट सडक अवरुद्ध भएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । 

राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । 

सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उनले बताए । 

पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन गरिएको खनालले बताए । 

हाल ठूलो पानी नपरे पनि विगत दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुनसक्ने उनको अनुमान छ । 

पहिरोले धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ । 

दिनको समयमा सडक रोकेर काम गरिने हुँदा बिहान बेलुका र रातको समयमा सवारी चाप बढ्ने बेला पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । 

सो सडकखण्ड विस्तारको काम भइरहेको छ । भित्तो काटेर सडक फराकिलो बनाएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ