arrow

टीकापुरमा थारु र पहाडी दुबै समुदायका पीडितले पाए राहत

रेशम चौधरीको कडा प्रतिक्रिया

logo
प्रकाशित २०७४ असार ४ आइतबार
tikapur_news.jpg

काठमाडौं । सरकारले टीकापुर घटना र त्यस आसपास भएका तोडफोड एवं आगजनीका पीडितलाई राहत विरण गर्ने काम लगभग सक्काएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सरकारले दिएको राहत रकम पीडितलाई वितरण गरेको हो । स्थानीय सिफारिस समितिले सिफारिस गरेका ८८ पीडित घर परिवार मध्ये अधिकांशले राहत बुझिसकेका छन् । अब छिटपुटले मात्रै राहत लिन बाँकी रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
रिजालका अनुसार टीकापुर घटनाका पीडित र थारु समुदायलाई मात्र नभई टीकापुर घट्ना घट्नु अघि भएका घर, पसल र सवारी तोडफोड तथा आगजनी पीडितलाई राहत दिइएको हो ।

उनले भने, ‘टीकापुर घटनाका पीडित र घटना घटाउन संलग्न भनिएका व्यक्तिलाई मात्र सरकारले राहत वितरण गरेको भन्ने बुझ्नु भएन । टीकापुर घटना हुनु अघि पनि स्थानीयका घर, पसल र सवारीमा तोडफोड र आगजनी भएको थियो । टीकापुर घटनापछि पनि आक्रोशितहरुले तोडफोड र आगजनी गरे ।’ राहत पाउने थारु समुदाय मात्रै छैनन् पहाडी समुदाय पनि छन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘२०७२ भदौ ७ को टीकापुर घटनापछि भएको तोडफोड र आगजनीका घटनाको मात्रै क्षतिपूर्ति दिइएको होइन । टीकापुर घटना आसपास भएका सबै घटनाका पीडितलाई राहत दिइएको हो ।’ थारु र पहाडी समुदाय दुवैतर्फका पीडितको क्षति विवरण समेटेर जिल्ला स्तरीय छानविन समितिले प्रतिवेदन दिएको थियो, रिजालले थपे, ‘प्रहरीको सरजमिन मुचुल्का र स्थानीय प्रशासनले तयार पारेको सिफारिस र अरु कागजातको आधारमा केन्द्रले निर्णय गरेको हो ।’

नागरिक राहत तथा क्षतिपूर्ति सम्बन्धि निर्देशिका एवं कार्यविधि २०६८ अन्तर्गत जिल्ला सिफारिस समिति गठनको प्रावधान छ । सोही समितिले गरेको सिफारिसका आधारमा नेपाल सरकारले पीडितलाई राहत दिने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले जाँदा जाँदै गरेको निर्णयको चौतर्फी विरोध भएको छ । टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीलाई मात्र सरकारले १ करोड ७४ लाख राहत रकम उपलब्ध गराएको छ ।

यद्यपि, त्यो रकम चौधरीको फुलबारी एफएम, फुलबारी कटेज लगायत धनमाल ध्वस्त भएको क्षतिपूर्ति स्वरुप दिएको बताइएको छ । यद्यपि, सरकारको उक्त निर्णय र रकम वितरणको चौतर्फी विरोध भएको छ । कारण टीकापुरमा ०७२ भदौ २ मा एक एसएसपीसहित ८ सुरक्षाकर्मी र एक दुधे बालकको निर्ममतापूर्वक हत्या गरिएको घटनामा संलग्नहरुलाई नै सरकारले इनाम दिएको भन्ने भावना विकसित भएको छ । यद्यपि, पीडितहरुले सरकारले राहत दिएर न्यायको अनुभूति भएको बताएका छन् ।

उता, टीकापुर घटनाको मुख्य योजनाकार भन्ने गरिएका रेशम चौधरीले आफ्नो जायजेथा ध्वस्त पारिएको क्षतिपूर्ति पाएको प्रतिक्रिया दिएका छन् । आमसंचार माध्यम र समाजिक संजालमा एकतर्फी रुपमा सरकार र स्वयं चौधरीलाई लखेटिएपछि उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘मेरो फुलबारी रिसोर्ट र एफएम जलेर खरानी भएको तस्वीर हेरे हुन्छ । मैले पुरस्कार पाएको होइन । जलाएको सम्पत्तिको थोरै अंश पाएको हुँ ।’

उनले चुनौती दिँदै भनेका छन्, ‘डाह र इर्ष्या लाग्छ भने मेरो जायजेथा जस्ताको तयस्तै बनाइदेउ अनि सरकारले दिएको राहत लैजाउ ।’ उनले घटनाको गहिराइ नबुझेर त्यसै हल्ला गर्न नहुने समेत उल्लेख गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको उच्चस्तरीय आयोगले भने अझै अध्ययन गरिरहेको छैन  । आयोगको प्रतिवेदन आए टीकापुर घटनाको सत्य तथ्य बाहिर आउने विश्वास गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ