arrow

काठमाडौंको महानगरले टेरेन केन्द्र सरकारको निर्देशन, बढाइछाड्यो बृद्धभत्ता 

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
mahanagar123.jpg

काठमाडौं । जेठ १८ गते सरकारले स्थानीय तहलाई दिएको निर्देशन विपरित काठमाडौं महानगरपालिकाले बृद्धभत्ता बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महानगरको नगरकार्यपालिकाको बैठकले विगत वर्षहरु देखि ८८ वर्ष उमेर पुगेका बरिष्ठ जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप वार्षिक रु. १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्ष २०७३।७४ का लागि उक्त भत्ता रकममा वृद्धि गरी रु. १२ हजार पुर्याउनेर सो भत्ता रकम तत्काल वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वमा जेठ १८ गते बसेको अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवको संयुक्त बैठकले सरकारले विनियोजन विधेयक वमोजिम कार्यविधि र मापदण्ड नबनाउँदासम्म कुनै पनि आर्थिक विषयमा निर्णय नगर्न स्थानीय तहलाई निर्देशन दिएको थियो । तर सो विधेयक नबन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको हो । महानगरपालिकाको कार्यपालिकाको बैठकको आठौं नम्बरको निर्णयमा यस्तो उल्लेख गरिएको छ । 

त्यस्तै, बैठकले पूर्वाधार सुधारमा ५ करोड ४४ लाख, वातावरण सुधार तर्फ १ करोड ६० लाख र अनुदानमा ८ लाख  घटाउने निर्णय गरेको छ । त्यस्तै, फुटपाटमा ३ करोड २० लाख, ढुंगा ईटा छाप्नेमा २ करोड २४ लाख सडक सरसफाईमा ६४ लाख बजेट थपिएको छ । यसरी विनियोजन गरिएको बजेट  प्रत्येक वडाको लागि समान रुपमा सडक तथा फुटपाथ रु. १० लाख, ढुंगा ईंटा छाप्ने ७ लाख, ढल मर्मत सम्भार रु. ३ लाख, सडक सरसफाई रु. २ लाख र अतिथि सत्कार(जलपान) रु. २५ हजार गरी जम्मा २२ लाख २५ हजार) बाँडिने बताईएको छ । 

तलव पारिश्रमिकमा ३५ लाख घटाउने, जनप्रतिनिधिको तलबमा २५ लाख थप्ने र जनप्रतिनिधिको सुविधामा १० लाख थप्ने निर्णय गरिएको पनि महानगरपालिकाले जनाएको छ । त्यस्तैल प्रमुख तथा उपप्रमुखहरुको तलव भत्ता तोकिएको छ । प्रमुख तथा उपप्रमुखको बैठकभत्ता १५ सय र परिवहन भत्ता एक हजार नगरकार्यपालिका सदस्य, वडा सदस्यको बैठकभत्ता एक हजार र परिवहन भत्ता पनि एक हजार तथा आमन्त्रित सदस्यलाई पनि बैठक तथा परिवहन भत्ता एकएक हजार दिईने भएको छ । 

त्यस्तै प्रमुख तथा उप–प्रमुखलाई महानगरले नै खरीद गरी मोबाईल सेट उपलब्ध गराउने भएको छ । पैसा भने विल बमोजिम महानगरले बेहोर्ने भएको छ । तर, नगर कार्यपालिका सदस्यहरुले भने ३० हजार मोवाईल किन्नको लागि र २५ सय मासिक मोवाईल खर्च उपलब्ध गराउने निर्णय गरिएको छ । 

बैठकले स्थानीय तहको निर्वाचन २०७४ अन्तर्गत मिति २०७४ जेष्ठ २६ गते सम्पन्न काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनबाट निर्वाचित तपसिलमा उल्लेखित नगर कार्यपालिकाका सदस्यहरुलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको दोश्रो बैठकमा स्वागत गर्दै वधाई एवं सफल कार्यकालको कामना गर्ने निर्णय पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ