arrow

भोट माग्ने नयाँ शैली : धान रोपिरहेको खेतमै पुगे नवलपरासीका उम्मेदवारहरु 

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
khet_ropai_photo.jpg

नवलपरासी । उम्मेदवारहरु चुनाव आएपछि के मात्रै गर्दैनन् उम्मेदवारहरु भन्ने कुरा हिजो आज नवलपरासीमा देखिन थालेको छ । उनीहरु मतदातालाई आफ्नै पक्षमा प्रभाव पार्नको लागि अहिले फरक शैली अपनाउन थालेका छन् । 

मतदाताहरु रिझाउनका लागि अहिले उम्मेदवारहरु घरायसी काम गर्नेदेखि घाँस काटिदिने सिजन अनुसार खेतमै गएर धान रोपिदिन समेत पछि पर्न छाडेका छन् । रोपाईको चटारो चलिरहेकोे बेलामा अधिकांस मतदाताहरु खेतमा जाने भएकोले उनीहरु पनि खेतमा नै गएर किसानलाई सघाउन लागिपरेका हुन् । प्रदेश नं ५ मा पर्ने नवलपरासी भित्रका सातवटा स्थानीय तहमा निर्वाचनको अहिले माहोल चुलिएको छ । 

अहिले विभिन्न सभा, जुलुस, घरदैलोलगायतका प्रचारप्रसारमुखी कार्यक्रममार्फत् सबैजसो राजनीतिक दलका नेता कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा मात्रै नपुगेर खेतबारीमा समेत पुग्न थालेका हुन् । जिल्लाका सात वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजसो स्थानमा ठूला शीर्ष राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने अवस्था छ । 

प्रदेश नं ५ मा पर्ने नवलपरासीको सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता छन् । जसमा ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी छन् । करिब १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दलसम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेपनि राष्ट्रिय जनता पार्टी ९राजपा०ले भने निर्वाचनमा भाग लिएको छैन । 

नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपा, माले र मधेस केन्द्रीत दलमध्ये फोरम लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरमलगायतका दल चुनावी अभियानमा छन् । 

सत्तरीवटा मतदानस्थल अति संवेदनशील 

नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा कुल ७० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलमको रुपमा लिइएको छ । ती मतदानस्थलमा निर्वाचनको क्रममा हुन सक्ने संवेदनशीलतालाई महसुस गरी सुरक्षा प्रबन्ध मिलाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। 

कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो । सातवटा स्थानीय तहमा रहेका १२० मतदानस्थल र २४० वटा मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा करिब तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । निर्वाचनका लागि आवश्यकताअनुसार नेपाली सेना ५००, सशस्त्र प्रहरी ५२०, नेपाल प्रहरी एक हजार १७६ र म्यादी प्रहरी एक हजार खटाउने तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ