राजपा र विप्लव समूहको स्वतन्त्र उम्मेदवारीले गृहमन्त्री शर्माको मन खुस्
प्रकाशित २०७४ असार ८ बिहिबार
229
Shares
विराटनगर । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने र राजनीतिक समस्याको समाधान हुने बताएका छन् । विराटनगरमा प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठीमा गृहमन्त्री शर्माले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गरे ।
दोस्रो चरणको निर्वाचनका लागि प्रायः सबै दल निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूहले स्वतन्त्र रुपमै केही ठाउँमै भएपनि निर्वाचनमा सहभागिता जनाएको उल्लेख गरे । मन्त्री शर्माले बहिस्कार गरेका दलले पनि चुनावमा सहभागिता जनाएकाले सौहार्दता थपिएको बताए ।
स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एकअर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह सहभागि भए ।
प्रदेश नम्बर १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारी पनि सहभागि भएका छन् । सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताए ।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री शर्माले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी दिए ।