मोरङ । एमाले अध्यक्ष केपी ओलीले काँग्रेसको गढ मानिने मोरङमै पुगेर काँग्रेसले माओवादी केन्द्रलगायत जति पाटी जोडेर मोर्चा बनाए पनि एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने ठोकुवा गरेका छन् ।
मोरङको उर्लाबारी नगरपालिकामा भएको सभामा ओलीले काँग्रेसले एक्लै नसकेपछि मोर्चाबन्दी गर्न पुगेको टिप्पणी गरे । त्यसअघि ओलीले बेलबारी, शनिश्चरे, मिक्लाजुङ्मा भाषण गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले काँग्रेसले बनाएको गठबन्धनलाई हात्तीविरुद्ध स्यालहरुको वथान, भने । उनले थपे, ‘तपाईहरुलाई थाहै छ, काँग्रेस र माओवादी केन्द्र एमालेविरुद्ध मोर्चा कसेर लागेका छन् तर, एमालेसँग प्रतिस्पर्धा गर्न भने सम्भव छैन । अब जत्तिसुकै स्यालहरुको वथान भएपनि हात्तीको सिकार गर्न सक्दैन, सिकार त के, हात्तीको छेउमा आउन पनि सक्दैन, पर–परबाट कराउने मात्रै हो ।’
ओली एकै पटक माओवादीको आधार क्षेत्र भनिने रोल्पा पुगे । उनले भने, ‘रोचक के छ भने रोल्पामा एमालेले काँग्रेससँगै मिलेर माओवादी केन्द्रविरुद्ध मोर्चाबन्दी गरेको छ ।’ अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवातिर लक्षित गर्दै पछिल्लो समय काँग्रेसको मूल नेतृत्वलाई राष्ट्रियता र समृद्धिको कुरा गर्दा रिस उठने गरेको छ, भने । ओलीले थपे, ‘एमालेले राष्ट्रिय झण्डा किन उठायो भन्दै कांग्रेस नेताहरु कराउँछन् । कांग्रेसलाई जतिसुकै रिस उठेपनि हामी राष्ट्रिय झण्डा बुलन्द गरिरहन्छौं, स्वाभिमान झुक्न दिँदैनौं ।’
भोट बटुल्ने हिँडेका ओलीले उर्लाबारीमा एमालेका मेयरका उम्मेदवार भुपाल सिं जिमी र उपमेयर लक्ष्मी भण्डारीलाई भोट माग्न समेत भ्याए । उनले उर्लावारीको विकासको जिम्मा आफु लिने आश्वासन बाँड्दै भोट मागेका हुन् । ओलीले सुनसरीका विभिन्न स्थानका सभालाई पनि सम्बोधन गरेका छन् । मेचीबाट भाषण सुरु गरेका ओलीको यात्रा प्रदेश पाँचका केही स्थानमा सम्बोधन गरेपछि टुंगिने बताइएको छ ।