एमालेका कार्यकर्ताद्वारा काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, २ गम्भीर घाईते
प्रकाशित २०७४ असार १२ सोमबार
599
Shares
अछाम । अछामको मेल्लेख गाउँपालिकाको सरानी गाउँमा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट दुई काँग्रेस कार्यकर्ता गम्भीर घाईते भएका छन् । गाउँमै राजनीतिक आस्थाका आधारमा विवाद हुँदा एमालेका चार कार्यकर्ताले काँग्रेसका दुई कार्यकर्तालाई सोमबार बिहान खुकुरी प्रहार गरी गम्भीर घाईते तुल्याएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य पदम खड्काले जानकारी दिए ।
एमालेका कार्यकर्ताहरु हेमराज खडका, केशर खड्का, उमेश खड्का र कृष्ण खड्काले काँग्रेस कार्यकर्ता युवराज खडका र प्रकाश खड्कालाई खुकुरी प्रहार गरी गम्भीर घाईते तुल्याएको खड्काले जानकारी दिए । खुकुरी प्रहारबाट महेशको टाउकोमा छ–सात ठाउँमा काटिएको र प्रकाशको पनि टाउँकोका काटिनुका साथै बायाँ हात भाँचिएको बुझिएको छ । घाईते द्वय सहोदर दाजुभाई हुन् । साथै ढुंगा प्रहारबाट महेश र प्रकाशको आमा ललिता देबि खडकासमेत घाईते भएको बुझिएको छ । महेशले आफ्नो घरमासमेत रातभर ढुंगा प्रहार भएको बताएका छन् ।
घाईतेहरु मध्ये २ को अवस्था गम्भीर रहेको र उपचारका लागि स्टेचरमा हालेर मेल्लेखतर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । घाईतेसँगै कुटपिटमा संलग्न चारै जना र उनीहरुबाट बरामद गरिएको दुई थान तरबारसमेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए । घट्नास्थल पुगेर फर्किएका खत्रीले आइतबार बेलुकीपख दुबै पक्षबीच झगडा भएको र बिहान एक्कासी आएर दुई भाइलाई खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।