arrow

सधैभरी आयोजनाकै आशा, अहिले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य

logo
प्रकाशित २०७४ असार १२ सोमबार
khanepani-photo.jpg.jpeg

बनेपा । वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन् । खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी वितरण गर्दा मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ । 

खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको उल्लेख गर्दै काभ्रे उपत्यका खानेपानी परियोजना पूरा भएपछि मात्रै गुणस्तरीय खानेपानी वितरण हुन सक्ने बताए। 

उनले फिल्टर नभएका कारण वर्षायाममा सिधै खानेपानी उपभोक्तासमक्ष वितरण गरेको जानकारी दिँदै अझै केही वर्ष यो समस्याको समाधान नहुने बताए। बनेपा र पनौती नगरपालिकामा अहिले खानेपानी संस्थानबाट करिब दुई लाख लिटर खानेपानी बितरण हुँदै आएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले एकीकृत खानेपानी परियोजनाको ६४ प्रतिशत काम पूरा भएको जानकारी दिँदै आगामी डिसेम्बरसम्ममा खानेपानी परियोजनाको काम सम्पन्न हुने दाबी गरे। 

उनले परियोजना सकिएपछि बनेपा, पनौती र धुलिखेल नगरपालिकाका १० हजार उपभोक्ताको घर घरमा गुणस्तरीय खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै तीन वर्षदेखि निर्माण कार्य जारी छ भने। सो परियोजनाको लागत रु ९४ करोड छ । बनेपा नगरपालिका–८ का बुद्धरत्न सुवालले खानेपानी संस्थानले वितरण गरेको खानेपानी पिउनका लागि प्रयोग नगरेको जानकारी दिँदै धमिलो पानी भाँडा माझ्न र शौचालयमा प्रयोग गर्र्ने गरेको बताए। 

उनले अन्य समयमा एक घन्टामात्रै खानेपानी वितरण गर्ने संस्थानले वर्षायाममा जथाभावी खानेपानी वितरण गरेको उल्लेख गरे । पैसा लिइरहेको हुन्छ तर हामीले गुणस्तरीय खानेपानी वर्षाको समयमा पाउन सकेका छैनौँ उनले भने। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ