मणिपालमा फेरि अर्को काण्ड : चिकित्सक नै लागुऔषध कारोबारी, परे प्रहरी फन्दामा
प्रकाशित २०७४ असार १२ सोमबार
367
Shares
पोखरा । लागुऔषध सेवन तथा कारोवारमासमेत संलग्न रहेको आरोपमा मणिपाल शिक्षण अस्पतालका चिकित्सक डा. राजव रानामगर प्रहरीको फन्दामा परेका छन् । मणिपाल अस्पताल बेला खबत नयाँ–नयाँ घटनाक्रमले चर्चामा आइरहन्छ । अहिले फेरि नयाँ रहस्योद्घाटन भएको छ । डा. रानामगरमाथि स्थानीय दुई युवालाई लागुऔषध किनेर ल्याउन भन्दै सीमावर्ती सुनौली पठाएको आरोप छ ।
स्याङजाको वालिङ नगरपालिका ३ घर भएका रानामगर आइतबार कास्की प्रहरीको फन्दामा परेका हुन् । उनी दिउँसो दीपस्थित कलेज नजिकैबाट पक्राउ परे । पोखरा बगालेटोलका संजय गुरुङ र शितलादेवीका योनेश गुरुङलाई लागुऔषध लिन पठाएका बताइएको छ । दुई युवामध्ये संजयलाई प्रहरीले यसअघिनै पक्राउ गरेको थियो । संजयकै बयानका आधारमा रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले भने, ‘सुनौली पुगेका युवा लागुऔषधसहित पक्राउ परेपछि उनकै बयानका आधारमा रानामगरलाई पक्राउ गरिएको हो । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’ एमबीबीएसको पढाई सकेर मणिपालमा एमडी अध्ययन गरिरहेका रानामगरले आफुले लागुऔषध सेवन गर्ने गरेको स्वीकारेका छन् ।
संजय र योनेश पोखराबाट संगै निस्किए पनि मुग्लिङ पुगेपछि सुनौली जाने बस चढेका योनेश केही समयमै हराएको संजयले प्रहरीसमक्ष बताएका छन । ५ दिनसम्म सम्पर्कमा नआएपछि योनेशका परिवारले कास्की प्रहरीमा खोजीका लागि गुहारेको थियो । प्रहरीले खोजी गर्ने क्रममा संजय र उनका अर्का साथी रोहीत असार ३ मा पक्राउ परे । उनीहरुको साथबाट ३४ थान लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
चितवनबाट हराएका योनेश पछि मृत भेटिए । असार ६ गते योनेशको शव मुग्लिङनजिकै त्रिशुली नदीमा भेटियो । यद्यपि, शव सड्न थालेकाले हत्या र अन्य कुनै कारणले मृत्यु भएको भन्ने ठम्याउन नसकेपछि चितवन प्रहरीले भिसेरा जाँचकालागि प्रक्रिया अघि बढाएको छ । मणिपाल अस्पताल एक पछि अर्को गर्दै चर्चामा आइरहेको छ । केही समय अघि मणिपालले दुर्घटनाका घाइतेलाई भर्ना गर्न नमानेपछि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ठूलो अपराध गरेको भन्दै आलोचना भएको थियो ।