arrow

मतदान अघि नै एमालेले जीत घोषणा गरेको गाउँपालिकाका ४ वटै वडामा काँग्रेसको जीत

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७४ असार १६ शुक्रबार
mechhyamem_gaupalika_map1.png

तेह्रथुम । नेकपा एमालेले मतदान अघि नै जितको दाबी गरेको जिल्लाकै सबैभन्दा सानो मेन्छ्यायेम गाउँपालिकामा मतगणनाको प्रारम्भिक नतिजादेखि अहिलेसम्म निरन्तर नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । 

साविकका मोराहाङ, श्रीजुङ र पौठाक गाविस मिलाएर गठन भएको यो गाउँपालिकामा कुल ५ हजार ६ जनामात्रै मतदाता थिए । त्यसमध्ये ३ हजार ५ सय १४ मत खसेको छ । अहिले सम्म वडा नं १, २, ३ र ४ को गरी कुल १ हजार ९ सय १६ मत गणना भइसक्दा नेपाली कांग्रेसको निरन्तर अग्रता छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देउबहादुर लिम्बुले १ हजार ५७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार यादवबहादुर खापुङले ६ सय ४० मत पाएका छन् । 

अहिलेसम्म ४ सय ११ को मतान्तर रहेको छ । माओवादी केन्द्रकी उम्मेदवार फुर्वी शेर्पाले १ सय २० मत पाएका छन् । उपाध्यक्ष पदतर्फ नेपाली कांग्रेसकी गीतादेवी तिम्सीनाले ९ सय ५१ मत पाएकी छिन् भने एमाले उम्मेदवार दिलकुमारी शंकरले ६ सय ४२ मत पाएकी छिन् । उपाध्यक्षमा माओवादी केन्द्रका वसन्त खापुङले १ सय ८६ मत पाएका छन् । अहिलेसम्म साविकका श्रीजुङ र पौठाक गाउँको मतगणना सकिएको हो । 

अब मोराहाङ अर्थात् वडा नं। ५ र ६ को मतगणनाको नतिजा आउन बाँकी छ । सबै मतगणना सकेर आजै नतिजा आउने निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए । अब गणना हुन लागेका वडामा नेकपा एमालेले बढी खसेको र आफुले जित्ने दाबी गरेको छ । तर सबै वडामा एक्लौटी जितको दाबी गरेको एमालेलाई दाँतमा ढुंगा भने यसअघि नै लागिसकेको छ । 
मतगणना भएका सबै वडामा नेपाली कांग्रेसले जितेको छ । मतदाताले विवेकीय निर्णय गरेकाले वडामा पनि मिश्रित परिणाम आएको स्थानीयले बताए । मेन्छ्यायेम गाउँपालिकाको वडा नं। १ मा कांग्रेसका शहरमान लिम्बु, वडा नं। २ मा रामबहादुर लिम्बु, वडा नंं। ३ मा विनय लिम्बु र वडा नंं। ४ मा लिलाकुमार लिम्बु विजयी भएका छन् । 

यो क्षेत्र एमालेबाट प्रत्यक्ष जितेको सभासद भवानीप्रसाद खापुङको गाउँको हो । ०५४ को निर्वाचनमा क्षेत्रपाल जितेका एमालेबाट अध्यक्ष उम्मेदवार रहेका खापुङको गाउँ मोराहाङ भएकाले अब गन्न बाँकी मतबाट एमालेले जित निकाल्ने दाबी गरेको छ । तर अब बाँकी वडामा कुल मत १६ सय मत मात्र रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ